काठमाडौँ : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको नयाँ तदर्थ समिति गठनका लागि नेताहरू छलफलमा जुटेका छन्। केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरू विघटन भएपछि तरुण दलमा नयाँ नेतृत्व ल्याउन रस्साकस्सी सुरु भएको हो।
बिहीबार सभापति गगन थापा, सहमहामन्त्री उदयशमशेर राणा र तरुण दलका निवर्तमान अध्यक्ष विद्वान गुरुङबीच नेतृत्व चयनका विषयमा गम्भीर छलफल भएको थियो। त्यसपछि पनि नेताहरुबिच छलफल हुँदै आएको छ । हाल अध्यक्षका लागि मनिष कोइराला र कुमार गुरुङको नाम प्रमुखताका साथ आए पनि हालसम्म सहमति जुट्न नसकेको नेताहरुको भनाइ छ। नेतृत्व चयनमा देखिएको मुख्य गाँठो भने विधानको पालनालाई लिएर परेको छ। पार्टी सभापति गगन थापा आफैँ महामन्त्री भएको बेला पारित गरिएको तरुण दलको विधान (सातौँ संशोधन) को दफा ४३ (२) अनुसार अध्यक्ष बन्नका लागि केन्द्रीय कार्यसमितिमा कम्तीमा एक कार्यकाल सदस्य भएको वा प्रदेश तथा जिल्ला अध्यक्षको रूपमा एक कार्यकाल नेतृत्व गरेको अनुभव हुनुपर्छ।
साथै, संगठनको सदस्य भएको १० वर्ष पूरा भएको हुनुपर्ने स्पष्ट व्यवस्था छ। तर, पार्टी नेतृत्वले 'विशेष आवश्यकता' को नाममा विधानभन्दा बाहिर गएर नेतृत्व छनोट गर्न खोजेको भन्दै संगठनभित्र तीव्र असन्तुष्टि देखिएको छ। यसैबीच, विधानविपरीत नेतृत्व चयन गरिए 'समानान्तर समिति' गठन गर्ने चेतावनी युवा नेताहरूले दिएका छन्। तरुण नेता दिल लामाले विधानअनुसार नेतृत्व नआए प्रारम्भिक चरणमा २७ सदस्यीय समानान्तर समिति घोषणा गर्ने तयारी भइरहेको बताए। अर्का नेता करन बोहराले भाषणमा विधानको कुरा गर्ने तर व्यवहारमा लागु नगर्ने प्रवृत्ति अब स्वीकार्य नहुने टिप्पणी गरेन्।
त्यस्तै, नेता पशुपति पोखरेलले सभापति गगन थापालाई विगतमा शेरबहादुर देउवाले विधान मिचेको भन्दै प्रश्न उठाउने व्यक्तिले आज आफैँले बनाएको विधान मिच्न नमिल्ने बताए । उनले 'खल्तीबाट नेतृत्व ल्याउने' प्रयास भए सशक्त विरोध हुने र आफूहरू विधानअनुसार योग्य रहेकाले विधानकै आधारमा नेतृत्व चयन हुनुपर्ने बताए । पार्टी सभापति थापाले भने सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको र विधान नमान्ने तथा अवरोध गर्ने प्रवृत्तिलाई अब छुट नदिइने बताउँदै आएका छन्।
केही दिनअघि महामन्त्री प्रदीप पौडेलले भने विशेष परिस्थितिमा विशेष निर्णय लिन सक्ने बताएका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij