चितवन : जगतपुर–कसरा–बनकट्टा–माडी हुलाकी सडक खण्डअन्तर्गत बनकट्टादेखि धुर्ब पोस्टसम्म वन्यजन्तु आवतजावत हुने संवेदनशील क्षेत्रमा सडक सुरक्षा र वन्यजन्तु संरक्षणलाई लक्षित गर्दै प्राविधिक टोलीले निगरानी क्यामेरा जडान कार्य सुरु गरेको छ।
चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको उक्त सडक क्षेत्रमा सवारी साधन र वन्यजन्तुबीच हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले यो प्रणाली विस्तार गर्न लागिएको हो। क्यामेरा जडानपछि उक्त क्षेत्रमा वन्यजन्तुको गतिविधि निगरानी गर्न सहज हुने र आवश्यक सुरक्षा रणनीति तय गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।
यस सडक खण्डको दीर्घकालीन सुधारका लागि बहुआयामिक योजना समेत अघि सारिएको छ। जसअन्तर्गत वातावरणीय प्रभाव मूल्यांकन (EIA) अनुसार वन्यजन्तु सुरक्षित आवतजावतका लागि फ्लाइओभर (ओभरपास) निर्माण गर्ने, सडकको अलाइनमेन्ट सुधार गरी दूरी छोट्याउने तथा सडकलाई अझ सिधा र व्यवस्थित बनाउने योजना समावेश छन्।
त्यस्तै, निकुञ्ज क्षेत्रभित्र पर्ने सडक मापदण्ड अनुसारका रुखहरूको गणना गरी आवश्यक प्रक्रिया पूरा गरेर मात्र व्यवस्थापन गरिने जनाइएको छ। सबै कामलाई स्थानीयवासीको सुविधा र दीर्घकालीन यातायात सहजतालाई ध्यानमा राख्दै छिटो सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
यो सडक खण्ड चितवनको प्रमुख पूर्वाधार मार्गमध्ये एक भएकाले वन्यजन्तु संरक्षण र विकास निर्माणबीच सन्तुलन कायम गर्दै सुरक्षित र दिगो यातायात प्रणाली निर्माण गर्ने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij