चितवन : योगदानको प्रशंसा कालिका नगरपालिका अन्तर्गत श्री समीपुर माध्यमिक विद्यालयमा एसईई उत्तीर्ण विद्यार्थी तथा कक्षा ८ र ५ मा उत्कृष्ट अंक ल्याई उत्तीर्ण भएका विद्यार्थीहरूको सम्मान तथा नवनिर्मित विद्यालय भवन उद्घाटन कार्यक्रम कालिका नगरका नगर प्रमुख विनोद रेग्मीको प्रमुख आतिथ्यतामा भव्य रूपमा सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, स्थानीय जनप्रतिनिधि तथा विद्यार्थीहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरूको शैक्षिक उपलब्धिको प्रशंसा गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको थियो। कार्यक्रमको विशेष आकर्षणका रूपमा कालिका नगरपालिकाका चर्चित समाजसेवी तथा युवा व्यक्तित्व रमेशजंग थापाको उपस्थिति रहेको थियो।
उहाँले उत्कृष्ट विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप दुई थान साइकल वितरण गर्दै शिक्षामा निरन्तर सहयोग आवश्यक रहेको बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई मेहनत, अनुशासन र लक्ष्यप्रति समर्पित रहन आग्रह गर्दै शिक्षा नै समाज परिवर्तनको प्रमुख आधार भएको धारणा व्यक्त गर्नुभयो। सोही अवसरमा विद्यालयको नवनिर्मित भवनको औपचारिक उद्घाटन पनि गरिएको थियो। नयाँ भवनले विद्यालयको शैक्षिक वातावरण सुधार गर्दै विद्यार्थीहरूलाई सहज र गुणस्तरीय अध्ययन वातावरण प्रदान गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा सहभागी अतिथिहरूले पूर्वाधार विकाससँगै गुणस्तरीय शिक्षामा सबै पक्षको साझा भूमिका आवश्यक रहेकोमा जोड दिएका थिए। स्मरण रहोस्, समाजसेवी थापा विगत पाँच वर्षदेखि कालिका नगरपालिकाका विभिन्न विद्यालयहरूमा निरन्तर शैक्षिक तथा सामाजिक सहयोग गर्दै आउनुभएको छ। साइकल वितरण, शैक्षिक सामग्री सहयोग तथा विपन्न विद्यार्थीलाई सहायता गर्दै उहाँले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आउनुभएको छ। स्थानीयवासीहरूले उहाँको योगदानको प्रशंसा गर्दै यस्ता कार्यहरूले विद्यार्थीहरूमा प्रेरणा र आत्मविश्वास बढ्ने बताएका छन्। कार्यक्रमले विद्यालयमा नयाँ ऊर्जा थपेको छ र सहभागी सबैले उहाँको सामाजिक योगदानको प्रशंसा गरेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij