नवलपुर : नवलपुर र चितवन हुँदै बग्ने नारायणी नदी मा भइरहेको नदीजन्य पदार्थ उत्खननमा अनियमितता देखिएको भन्दै जिल्ला अनुगमन समिति नवलपुरले उत्खनन कार्य तत्काल व्यवस्थित बनाउन कडा निर्देशन दिएको छ ।
समितिले गरेको स्थलगत अनुगमनका क्रममा नदीमा अनुमतिभन्दा बढी गहिराइसम्म खनिएको, वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) ले तोकेको क्षेत्रभन्दा बाहिर समेत उत्खनन गरिएको तथा सम्झौताभन्दा बढी उपकरण प्रयोग गरिएको पाइएको जनाएको हो । समितिका संयोजक एवं जिल्ला समन्वय समिति नवलपुर का प्रमुख बाबुराम विश्वकर्मा ले नारायणी नदीबाट नदीजन्य पदार्थ जथाभावी निकालिएको पाइएको बताए । उनले नदीमा चार वटा मात्रै स्काभेटर सञ्चालन गर्नुपर्ने सम्झौता भए पनि अनुगमनका क्रममा नौ वटासम्म स्काभेटर प्रयोग भएको देखिएको जानकारी दिए ।
उनका अनुसार दैनिक २०० भन्दा बढी टिपर प्रयोग गरी अत्यधिक मात्रामा ढुङ्गा, गिट्टी र बालुवा निकालिँदा नदीको प्राकृतिक स्वरूपमै असर पर्ने जोखिम बढेको छ । “हामीले यसअघि पनि अनुगमन गरेर नियमअनुसार उत्खनन गर्न सुझाव दिएका थियौँ,” प्रमुख विश्वकर्माले भने, “तर एक सातापछि पुनः अनुगमन गर्दा पनि अपेक्षित सुधार देखिएन ।”
समितिले उत्खनन कार्य ‘लेभलिङ’ अर्थात् समान गहिराइमा हुनुपर्ने, उत्खनन क्षेत्र स्पष्ट छुट्याइनुपर्ने तथा चलानी प्रणाली पारदर्शी बनाउनुपर्नेमा जोड दिएको छ । उत्खनन क्षेत्रमा नगरप्रहरी र नेपाल प्रहरीको नियमित निगरानी आवश्यक रहेको समितिको भनाइ छ । अनुगमनका क्रममा आवश्यकता भन्दा बढी टिपर परिचालन भएको देखिएपछि ठेकेदार पक्षसँग स्पष्टीकरण मागिएको थियो । ठेकेदारले अन्य खोलाबाट उत्खनन बन्द हुँदा यहाँ बढी टिपर आएको प्रतिक्रिया दिएको बताइएको छ । समितिले वास्तविक विवरण तत्काल उपलब्ध गराउन र आवश्यकता भन्दा बढी सवारी साधन प्रयोग नगर्न निर्देशन दिएको छ ।
स्थानीयवासीले नदीजन्य पदार्थ ढुवानीका क्रममा राजमार्गमा पानी चुहाउँदै तथा धुलो उडाउँदै टिपर सञ्चालन भइरहेको गुनासो गरेका छन् । त्यसपछि प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डे ले ढुवानी व्यवस्थित बनाउन कडा निर्देशन दिएका छन् । उनले टिपरमा त्रिपाल अनिवार्य प्रयोग गर्न, पानी नचुहिने व्यवस्था मिलाउन तथा सिसी क्यामेरामार्फत निगरानी बढाउन सुझाव दिएका हुन् । “ढुवानी व्यवस्थापन स्थानीय तहको दायित्व हो, आवश्यक परे प्रशासनले सुरक्षा प्रबन्ध मिलाउँछ,” प्रजिअ पाण्डेले भने । नारायणी नदीमा बाँध बाँधेर धार परिवर्तन गरिएको विषयमा प्रशासन पूर्ण रूपमा जानकार नभएको उनले बताए । यद्यपि बाढीको जोखिमबाट उपकरण जोगाउन अस्थायी बाँध बनाइएको जानकारी आएको र उत्खनन सकिएपछि ती संरचना हटाइने उनले स्पष्ट पारे ।
यसैबीच, नदीजन्य पदार्थ उत्खननको ठेक्का जिम्माल बिल्डर्स ले पाएको छ । नगरपालिकाले गत माघमा ई–बिडिङमार्फत ठेक्का आह्वान गरेको थियो । प्रारम्भिक दुई कम्पनीले ठेक्का नस्वीकारेपछि तेस्रो उच्च कबोलकर्ता जिम्माल बिल्डर्सलाई करिब चार करोड रुपैयाँमा ७८ हजार घनमिटर नदीजन्य पदार्थ उत्खननको जिम्मा दिइएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादे का अनुसार हालसम्म ४९ हजार ८०० घनमिटर नदीजन्य पदार्थ उत्खनन भइसकेको छ भने बाँकी परिमाण उत्खननका लागि तोकिएको सम्पूर्ण क्षेत्र प्रयोग आवश्यक नपर्ने ठेकेदार कम्पनीले जनाएको छ । अधिकृत लामगादेले सम्झौताभन्दा बढी उपकरण प्रयोग गरिएको पुष्टि भए कारबाही गरिने चेतावनी दिएका छन् । जिम्माल बिल्डर्सले गत वैशाख १२ गतेदेखि उत्खनन अनुमति पाएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij