भरतपुर : बिरामीको चाप निरन्तर बढ्दै गएपछि सेवा विस्तारको आवश्यकता बढे पनि भरतपुर अस्पताल ले आफ्नै स्वामित्वको जग्गा पूर्ण रूपमा उपयोग गर्न नपाउँदा पूर्वाधार विकास प्रभावित बनेको छ । अस्पतालले नयाँ भवन निर्माणदेखि विशेषज्ञ सेवा विस्तारसम्मका योजना अघि बढाउने तयारी गरे पनि जग्गा प्रयोगमा देखिएको अवरोध मुख्य चुनौतीका रूपमा देखिएको हो ।
अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाले अस्पताल विस्तार तथा भावी योजनाका लागि थप जग्गा आवश्यक पर्ने बताए । उनका अनुसार अस्पतालले भोगाधिकार गर्न पाउने करिब ३० बिघा जग्गामध्ये हाल ११ बिघा मात्रै अस्पताल प्रयोजनमा प्रयोग भइरहेको छ । उनका अनुसार बाँकी जग्गा विभिन्न संस्था तथा कार्यालयले प्रयोग गरिरहेका छन् । कलेज अफ मेडिकल साइन्सले नौ बिघा जग्गा भाडामा लिएको छ भने स्कुल अफ हेल्थ साइन्सले छ बिघा प्रयोग गरिरहेको छ ।
त्यसैगरी आँखा अस्पतालले करिब चार बिघा, रक्तसञ्चार केन्द्रले दुई कठ्ठा, नेपाल रेडक्रस सोसाइटीले एक कठ्ठा, जिल्ला स्वास्थ्य कार्यालयले १० कठ्ठा १० धुर तथा नहर एरिया टोल विकास संस्थाले १० धुर जग्गा प्रयोग गरिरहेका छन् । प्रवक्ता सापकोटाले ती संस्थाहरूसँग लिज ऐनअनुसार सम्झौता गर्न पटक–पटक पत्राचार गरिएको भए पनि अपेक्षित प्रतिक्रिया नआएको बताए । उनले सम्बन्धित निकायलाई आवश्यक पहल गरिदिन आग्रहसमेत गरे ।
उनले भरतपुर अस्पताल तत्कालीन महेन्द्र आदर्श चिकित्सालयका रूपमा सानो भवनबाट सुरु भई हाल सङ्घीय अस्पतालका रूपमा सञ्चालन भइरहेको जानकारी दिए । करिब ६०० शय्याको अस्पतालमा दैनिक दुई हजारदेखि तीन हजारसम्म बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पताल आगामी दिनमा शैक्षिक तथा प्रतिष्ठानका रूपमा विस्तार हुने योजना रहेको भन्दै डा. सापकोटाले स्टोर भवन, आवास गृह, प्रशासनिक भवन तथा प्रतिष्ठान सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न पर्याप्त जग्गा अभाव रहेको बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij