Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

नगरप्रहरीको दुर्व्यवहारमा परेकी काफल बेच्ने महिलालाई क्षतिपूर्ति

नगरप्रहरीको दुर्व्यवहारमा परेकी काफल बेच्ने महिलालाई क्षतिपूर्ति

कर्णाली : काफल बेच्ने महिलामाथि नगरप्रहरीले दुर्व्यवहार गरेको घटनामा वीरेन्द्रनगर नगरपालिकाले १० हजार रुपैयाँ क्षतिपूर्ति दिएको छ।कालीकोट घर भई हाल वीरेन्द्रनगर–३ सुर्खेत बस्ने अन्दाजी ४२ वर्षीया धमिला चौलागाईलाई नगर प्रहरीले काफल पोखाइदिँदै दुर्व्यवहार गरेको थियो।

उक्त नगरपालिकाले आज विज्ञप्ति जारी गर्दै जेठ ५ गते मङ्गलबार साँझ नगर प्रहरीद्वारा सडकपेटी र फुटपाथ व्यवस्थापन गर्ने क्रममा नगरपालिका–६ स्थित सिटी बसपार्कमा डालामा काफल बेच्दै गरेकी चौलागाईमाथि भएको व्यवहारप्रति ध्यानाकर्षण भएको जनाएको छ।

सो कार्यमा संलग्न नगरप्रहरीलाई विभागीय कारबाही गरिने र पीडित महिलालाई उचित राहत तथा क्षतिपूर्ति दिने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता टङ्कप्रकाश लामिछानेले बताए। उनका अनुसार पीडित महिलालाई नगरप्रमुख मोहनमाया ढकालकै हातबाट क्षतिपूर्तिस्वरुपको रकम प्रदान गरिएको हो।  

नगरप्रहरीले मङ्गलवार साँझ सिटी बसपार्कमा काफल बेच्दै गरेको महिलाको डालो समातेर घोप्ट्याउँदा काफल भुइँमा छरपस्ट भएको र ती महिला रोइकराइ गरेको भिडियो सार्वजनिक भएको थियो।

सो भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि नगरप्रहरी र नगरपालिकाको सेवाबारे सर्वत्र आलोचना भएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट