Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

दैलेखको ग्यास खानीलाई २ करोड बजेट : सांसद सावित्री मल्लले मागिन् स्पष्टीकरण

दैलेखको ग्यास खानीलाई २ करोड बजेट : सांसद सावित्री मल्लले मागिन् स्पष्टीकरण

काठमाडौँ : सांसद सावित्री मल्लले दैलेखको पेट्रोलियम पदार्थ उत्खनन परियोजनाका लागि विनियोजन गरिएको बजेटप्रति आपत्ति जनाएकी छन् । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आगामी आर्थिक वर्षको बजेटमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको शीर्षकमाथि भएको छलफलमा बोल्दै सांसद मल्लले २ करोड २९ लाख रुपैयाँ बजेटले यति ठुलो परियोजना सम्पन्न हुन नसक्ने दाबी गरिन्।

सांसद मल्लले दैलेखको जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन सुरु भएको एक वर्ष भइसकेको र त्यहाँ ५० वर्षसम्म पुग्ने मिथेन ग्यास रहेको विज्ञहरूको प्रतिवेदनले देखाएको उल्लेख गरिन्। उनले भनिन्, ‘२ करोड २९ लाखले मात्र के हुन्छ ? त्यहाँ ५० वर्ष पुग्ने मिथेन ग्यास भएको विज्ञहरूको प्रतिवेदन छ । यो २ करोड २९ लाख रुपैयाँ के बजेट हो ? यसले कसरी उत्खनन सम्पन्न हुन्छ ?’

सरकारले विनियोजन गरेको यो न्यून बजेटले आयोजनालाई गिज्याइरहेको बताउँदै उनले यो बजेटको खाका कसले तयार पारेको भन्दै प्रश्न गरिन् । ‘कसरी बजेट विनियोजन भयो ? कसले प्रपोजल पेस गर्‍यो ? यसको मलाई स्पष्टीकरण चाहियो,’ उनले भनिन्।

सांसद मल्लले थोरै बजेट दिएर आयोजना अल्झाउनुभन्दा बरु सो बजेट फिर्ता लिन मन्त्रालयलाई आग्रह गरिन्। उनले थपिन्, ‘न्यून बजेट राखेर काम हुँदैन भने यो बजेट फिर्ता लिनुस्। राष्ट्रिय गौरवको यो आयोजनालाई प्राथमिकता दिएर पर्याप्त बजेट विनियोजन गरिनुपर्छ।’

नेपालले बर्सेनि अर्बौँको इन्धन आयात गरिरहेको अवस्थामा आफ्नै देशको खानी उत्खननमा कन्जुस्याइँ गर्न नहुने उनको तर्क थियो। काठमाडौँमा ग्यासको लागि लाइन बस्नुपर्ने अवस्था अन्त्य गर्न दैलेखको ग्यास खानी कोशेढुङ्गा सावित हुने भन्दै उनले सरकारलाई गम्भीर हुन सचेत गराइन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट