चितवन : कृषिलाई आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा अघि बढाउँदै आएको कालिका नगरपालिकाले दुध उत्पादन गर्ने किसानहरूलाई प्रतिलिटर २ रुपैयाँ ६१ पैसाका दरले अनुदान वितरण गरेको छ । बुधबार नगरसभाहलमा आयोजित विशेष कार्यक्रममा नगरक्षेत्रभित्र रहेका सात वटा दुग्ध उत्पादक सहकारी संस्थामार्फत किसानहरूलाई कुल १ करोड ५ लाख १२ हजार ८ सय १२ रुपैयाँ अनुदान प्रदान गरिएको हो ।
नगरपालिकाका अनुसार प्रतिलिटर १ रुपैयाँ कालिका नगरपालिकाबाट तथा १ रुपैयाँ ६१ पैसा बागमती प्रदेश सरकारबाट उपलब्ध गराइएको हो । स्थानीय सरकार र प्रदेश सरकारको संयुक्त सहकार्यमा सञ्चालन गरिएको यो कार्यक्रमले किसानहरूको मनोबल उच्च बनाएको नगरपालिकाले जनाएको छ । कार्यक्रममा नगरप्रमुख विनोद रेग्मीले कृषि क्षेत्रको विकासबिना “समृद्ध कालिका, सुखी कालिकाबासी” भन्ने नाराले सार्थकता नपाउने बताए । उनले कृषि पेशालाई सम्मानित र व्यवस्थित बनाउँदै किसानको जीवनस्तर उकास्ने उद्देश्यले नगरपालिकाले विगत केही वर्षदेखि दुध उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए ।
उनले कृषि क्षेत्रलाई उत्पादनसँग मात्रै नभई रोजगारी, आत्मनिर्भरता र स्थानीय अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको क्षेत्रका रूपमा हेरिएको बताए । दुध उत्पादनसँगै मौरीपालन, च्याउखेती, तरकारी खेतीलगायत व्यवसायिक कृषि पेशालाई समेत नगरपालिकाले प्राथमिकतामा राखेको उनले उल्लेख गरे । नगर उपप्रमुख विमला तामाङले किसानहरूको मेहनत प्रशंसनीय रहेको बताउँदै सीमित स्रोतसाधनका बाबजुद स्थानीय सरकार र प्रदेश सरकारको समन्वयमा अनुदान कार्यक्रम सञ्चालन गरिएको बताइन् । उनले आगामी वर्षमा अझ बढी सहयोग गर्ने लक्ष्य रहेको उल्लेख गरिन् ।
प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईले कालिका नगरपालिका दुध उत्पादनका हिसाबले सम्भावनायुक्त क्षेत्रका रूपमा स्थापित हुँदै गएको बताए । सहकारीमार्फत दुध बिक्री गर्ने किसानलाई अहिले अनुदान दिइएको भए पनि आगामी दिनमा व्यक्तिगत रूपमा दुध उत्पादन गर्ने किसानलाई समेत कार्यक्रममा समेट्ने तयारी भइरहेको उनले जानकारी दिए ।
नगरपालिकाका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा कालिका नगरक्षेत्रमा कुल ५८ लाख ७६ हजार ५ सय लिटर दुध उत्पादन भएको छ । त्यसमध्ये ४० लाख २६ हजार ८ सय ९७ दशमलव ९३ लिटर दुध सहकारीमार्फत बिक्री भएको तथ्यांक सार्वजनिक गरिएको छ । सहकारीमार्फत मात्रै करिब २९ करोड रुपैयाँ आम्दानी भएको तथा अन्य माध्यमसमेत जोड्दा कुल दुध बिक्रीबाट करिब ४१ करोड रुपैयाँ आम्दानी भएको अनुमान गरिएको नगरपालिकाले जनाएको छ ।
अनुदान प्राप्त गर्ने सहकारीमध्ये पदमपुर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले सबैभन्दा बढी २९ लाख ६८ हजार ७ सय ९६ रुपैयाँ ७ पैसा प्राप्त गरेको छ । त्यसैगरी मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले २७ लाख १५ हजार ५ सय ३० रुपैयाँ ६५ पैसा, उत्थान दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले २१ लाख ३२ हजार २ रुपैयाँ ५१ पैसा तथा नवमिलिजुली दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले १३ लाख ८४ हजार ६ सय ३८ रुपैयाँ ९३ पैसा अनुदान पाएका छन् । कार्यक्रममा बोल्दै राजेन्द्र प्रसाद ढूंगानाले दुध व्यवसायले गाउँको पैसा गाउँमै टिकाउन महत्वपूर्ण भूमिका खेलेको बताए । उनले विगतमा किसानले दुधको मूल्य नपाएर सडकमा पोख्नुपर्ने अवस्था रहेको स्मरण गर्दै अहिले बजार व्यवस्थापनमा सुधार आएको बताए ।
स्थानीय तहले कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राख्दै किसानमैत्री कार्यक्रम सञ्चालन गरेपछि कालिका नगरपालिकामा व्यवसायिक दुध उत्पादनतर्फ किसानहरूको आकर्षण बढ्दै गएको देखिएको छ । युवा पुस्तालाई कृषि पेशामा आकर्षित गर्न आधुनिक कृषि प्रविधि, व्यवसायिक पशुपालन तथा उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई अझ प्रभावकारी बनाउने योजनामा नगरपालिका रहेको जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij