चितवन : चितवन जिल्लामा सञ्चालनमा रहेका एम्बुलेन्समध्ये ८६ वटाले मात्रै अद्यावधिक प्रक्रिया पूरा गरेका छन् । जनस्वास्थ्य कार्यालय चितवनले गत वैशाख २६ गते सूचना जारी गर्दै सात दिनभित्र सबै एम्बुलेन्सलाई अद्यावधिक गर्न निर्देशन दिएको थियो । कार्यालय प्रमुख निर्मल घिमिरेका अनुसार जिल्लामा दर्ता भएका ९३ वटा एम्बुलेन्समध्ये ८६ वटा मात्रै अद्यावधिकका लागि आएका हुन् । अद्यावधिक भएका सवारीमध्ये दुईवटा शववाहनसमेत रहेका छन् ।
उनका अनुसार हाल जिल्लामा ‘क’ वर्गका एम्बुलेन्स छैनन् । अद्यावधिक भएका एम्बुलेन्समध्ये १२ वटा ‘ख’ वर्गका र ७४ वटा ‘ग’ वर्गका रहेका छन् । ‘क’ वर्गका एम्बुलेन्समा भेन्टिलेटरसहित मेडिकल अधिकृत, एचए वा स्टाफ नर्सको व्यवस्था हुनुपर्ने प्रावधान छ । ‘ख’ वर्गमा एचए वा स्टाफ नर्ससहितको सेवा आवश्यक हुन्छ भने ‘ग’ वर्गका एम्बुलेन्सले अक्सिजनसहित बिरामी ओसारपसार गर्ने काम मात्रै गर्छन् ।
अद्यावधिकका लागि आएका एम्बुलेन्समध्ये १७ वटा स्वास्थ्य संस्थाका, १७ वटा नेपाल रेडक्रस सोसाइटीका तथा ५२ वटा प्रतिष्ठान, ट्रष्टलगायतका संस्थाद्वारा सञ्चालित रहेका छन् । घिमिरेका अनुसार अद्यावधिक भएका एम्बुलेन्समध्ये २९ वटा १० वर्ष पुराना छन् । एम्बुलेन्स सञ्चालन निर्देशिका २०८२ अनुसार १० वर्ष नाघेका एम्बुलेन्स नवीकरण गर्न नमिल्ने व्यवस्था रहेको उनले बताए ।
यस्तै, अद्यावधिक भएका एम्बुलेन्समध्ये ४२ वटामा जिपिएस जडान भए पनि प्रयोगमा नरहेको र ४४ वटामा जिपिएस नै जडान नभएको पाइएको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले सबै एम्बुलेन्समा अनिवार्य रूपमा जिपिएस जडान गरी सञ्चालन गर्न निर्देशन दिएको छ ।
जिल्लाका सात स्थानीय तहमध्ये भरतपुर महानगरपालिकामा सबैभन्दा बढी ४३ वटा एम्बुलेन्स रहेका छन् । खैरहनी नगरपालिकामा १६, कालिका नगरपालिकामा १०, राप्ती नगरपालिकामा ६, रत्ननगर नगरपालिका र इच्छाकामना गाउँपालिकामा ३/३ तथा माडी नगरपालिकामा २ वटा एम्बुलेन्स सञ्चालनमा छन् । अन्य जिल्लामा दर्ता भएका तीनवटा एम्बुलेन्स भने भरतपुरमा सञ्चालन भइरहेका छन् । जनस्वास्थ्य कार्यालयले अद्यावधिक नभएका एम्बुलेन्सलाई तत्काल प्रक्रिया पूरा गरेर मात्रै सञ्चालन गर्न स्थानीय प्रशासनसँग आग्रह गर्ने जनाएको छ । अद्यावधिक नगरी सञ्चालन गरिएका एम्बुलेन्समाथि प्रशासनमार्फत कारबाही प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij