Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

खोक्सिकवासीलाई निःशुल्क विद्युत् जडान

खोक्सिकवासीलाई निःशुल्क विद्युत् जडान

भोजपुर : जिल्लाको रामप्रसादराई गाउँपालिका–८ खोक्सिकमा दलित समुदायका विपन्न परिवारलाई लक्षित गर्दै वडाले निःशुल्क विद्युत् जडान कार्यक्रम सञ्चालन गरेको छ । वर्षौँदेखि अँध्यारोमा जीवन बिताउन बाध्य रहेका परिवारलाई उज्यालोको पहुँचमा ल्याउँदै जीवनस्तर उकास्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको हो ।

वडाले हालसम्म आठ दलित विपन्न परिवारका घरमा निःशुल्क विद्युत् जडान गरिसकेको वडाध्यक्ष बाचकुमार राईले जानकारी दिए। आर्थिक अभावका कारण विद्युत् सेवाबाट वञ्चित परिवारको पहिचान गरी प्राथमिकताका आधारमा सहयोग गरिएको उनको भनाइ छ । “वडाका विपन्न परिवारको घरमा निःशुल्क विद्युत् जडान गरिदिएका छौँ”, वडाध्यक्ष राईले भने, “आर्थिक अभावकै कारण अँध्यारोमा बस्नुपरेका परिवारलाई उज्यालो दिने हाम्रो सानो प्रयास हो ।”

विद्युत् सेवा पुगेपछि स्थानीय बासिन्दाको दैनिक जीवन सहज हुनुका साथै बालबालिकाको अध्ययन, घरेलु कामकाज तथा सुरक्षामा समेत सकारात्मक प्रभाव परेको उनको भनाइ छ । वडाले रु दुई लाख बजेट विनियोजन गरेर आवश्यक सहयोग गरेको वडाध्यक्ष राईले बताए । वडाले आगामी दिनमासमेत विपन्न तथा लक्षित वर्गका लागि यस्ता जनहितका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

स्थानीयवासीले पनि वडाको यो पहलप्रति खुसी व्यक्त गरेका छन् । विद्युत् सेवा उपलब्ध भएसँगै साँझपखको अँध्यारो हट्नुका साथै आधुनिक प्रविधिको प्रयोगमा सहजता आएको स्थानीयवासी सुदर्शन गहतराजले बताए । वडाको सहयोगमा घरमा विद्युत् जडान भएपछि दैनिक कामकाजमा सहयोग पुगेको उनको भनाइ छ ।

“आर्थिक अभावमा घरमा विद्युत् जडान गर्न सकेको थिइन”, उनले भने, “जसका कारण अँध्यारोमा रात कटाउनुपर्ने अवस्था थियो । वडाको सहयोग विद्युत् बाल्न पाउँदा खुसी लागेको छ ।” घरमा विद्युत् जडान भएपछि बालबालिकाको पठनपाठनसँगै उज्यालोमा बस्न पाएको अर्का स्थानीय मानबहादुर विश्वकर्माले बताए । वडाले गरेको यस कामले विपन्न परिवारको बस्तीमा विद्युत् बलेको उनको भनाइ छ । वडामा विद्युत् विस्तारको काम करिब ९८ प्रतिशत सम्पन्न भएको वडा कार्यालयले जनाएको छ । बाँकी रहेका नागरिकको घरमा पनि जडान गरेर उज्यालो वडा घोषणा गर्ने तयारी रहेको वडाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट