Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

माग सम्बोधन नभए निर्माण कार्य ठप्प पार्ने निर्माण व्यवसायीको चेतावनी शंकर अधिकारी

माग सम्बोधन नभए निर्माण कार्य ठप्प पार्ने निर्माण व्यवसायीको चेतावनी शंकर अधिकारी

भरतपुर : निर्माण व्यवसायी संघ चितवनले आफ्ना विभिन्न माग राख्दै सुरु गरेको आन्दोलन र धर्नालाई आज पनि निरन्तरता दिएको छ । संघले जिल्लास्थित सघन सहरी तथा भवन निर्माण कार्यालय, सिंचाइ तथा जलस्रोत कार्यालय, आयोजना तथा खानेपानी एवं ढल व्यवस्थापन कार्यालयलगायत सरकारी कार्यालयहरूमा धर्ना दिँदै ज्ञापनपत्र बुझाएको हो ।

संघका अध्यक्ष दिनेशचन्द्र न्यौपानेका अनुसार साविककै दररेटमा निर्माण कार्य सञ्चालन गर्दा व्यवसायीहरू ठूलो आर्थिक भारमा परेको अवस्था छ । “निर्माण व्यवसायीहरू घरजग्गा बेच्न बाध्य हुने अवस्था सिर्जना भएको छ, आर्थिक मात्र होइन मानसिक तनाव समेत बढेको छ,” उनले बताए । निर्माण व्यवसायीहरूले निर्माण आयोजनाहरूमा मूल्यवृद्धि समायोजन गर्नुपर्ने, व्यवसायीमाथिको अनावश्यक धरपकड बन्द गर्नुपर्ने, म्याद थप तथा इन्स्योरेन्सको सुनिश्चितता गर्नुपर्ने लगायतका माग अघि सारेका छन् । यिनै मागसहित देशभरका निर्माण व्यवसायीहरूले एक सातादेखि केन्द्रदेखि जिल्ला तहसम्म आन्दोलन, धर्ना र ज्ञापनपत्र बुझाउने कार्यक्रम जारी राखेका छन् ।

संघका महासचिव पुष्कर अधिकारीले यसअघि जिल्ला प्रशासन कार्यालय चितवनबाट शान्तिपूर्ण आन्दोलन सुरु गरिएको जानकारी दिँदै पूर्वाधार विकास कार्यालय, सडक डिभिजन कार्यालय तथा भरतपुर महानगरपालिकामा समेत धर्ना र ज्ञापनपत्र बुझाइसकिएको बताए । व्यवसायीहरूले राज्यले विषम परिस्थिति र मानवीय संवेदनशीलताको ख्याल नगरी निर्माण व्यवसायीहरूलाई आर्थिक तथा मानसिक दबाबमा पारेको आरोप लगाएका छन् । मागप्रति सरकार मौन र उदासीन बनेको उनीहरूको गुनासो छ । धर्नामा सहभागी व्यवसायीहरूले माग सम्बोधन नभए निर्माण कार्य पूर्ण रूपमा ठप्प पार्ने, निर्माण उपकरण तथा साधनहरूको चाबी सरकारलाई नै हस्तान्तरण गर्ने जस्ता थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिएका छन् । साथै, समयमै निर्माण सम्पन्न हुन नसके त्यसको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने उनीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट