Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सुरु

मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सुरु

भक्तपुर :  चाँगुनारायण नगरपालिका–५ छालिङ गोकुलधामस्थित मत्स्यनारायण मन्दिर परिसरमा तीनसय वर्ष पुरानो एकमहिने मेला सुरु भएको छ। मेलाका अवसरमा मन्दिर परिसर झकिझकाउ पारिएको छ।

मेलाको आज चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले उद्घाटन गरे। त्यस अवसरमा उनले ग्रामीण पर्यटनको विकास र सिङ्गो चाँगुनारायण क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र घोषणा गर्न सङ्घीय सरकारसँग नगरपालिकाले माग गरिरहेको बताए। वडा नं ५ का अध्यक्ष एवं मत्स्यनारायण मन्दिरका संरक्षक जयन्द्र खड्काले यहाँको ऐतिहासिक धार्मिक क्षेत्रको विकास र पर्यटनको विकासको अवसरलाई गुम्न नदिने गरी अगाडि बढिरहेको बताए।

पुरुषोत्तम मेला आयोजना समितिका संयोजक गोकर्ण पुरीले एकमहिने मेलालाई व्यवस्थापन सिङ्गो गाउँ लागेको बताउनुभयो। मेला अवधिभर प्रवचन र भजनकीर्तनको व्यवस्था, नारायणको पूजा÷पुरुषोत्तम महात्म्य वाचन, दर्शनार्थीलाई सहज पूजा गर्ने व्यवस्था गरेको उनको भनाइ छ।

मन्दिर संरक्षकसमेत रहेका पुरीले भने, “यो ३०० वर्ष पुरानो मन्दिर हो, दुई पीपलको बोटको बीचमा रहेको मन्दिर भत्किएपछि पुनःनिर्माण गरिएको हो, यसको शिलालेख पुरिएकाले उत्खनन् र अध्ययन गर्नुपर्ने देखिन्छ, १०० पुरानो पुजाको थाली भने अझै पनि छ, मन्दिरको संरक्षणमा यहाँका बासिन्दा सबै जुटेपछि अहिले यो मन्दिर वर्षभरि नै आन्तरिक पर्यटकको केन्द्र बनेको छ।”

स–साना तीन खोलाको सङ्गमस्थलमा रहेको यस मन्दिरलाई त्रिवेणी धामका नामलेसमेत चिनिने गरिन्छ। यहाँ ६४ शिवलिङ्ग, सप्तऋषिको मन्दिर, कृष्ण बर्तेश्वर महादेव मन्दिर, गणेश मन्दिर र कुण्डसमेत छ। मन्दिर परिसरमा मलमासमा ५० हजारभन्दा बढी दर्शनार्थीको आगमन हुने गरेको उनको भनाइ छ।

ख्यो पुखमा एकमहिन मेला सुरु

यसैगरी, भक्तपुर नगरपालिका–६ स्थित अंचा पोखरी ९ख्यो पुखु० आजदेखि एकमहिने मत्स्यनारायण अर्थात् पुरुषोत्तम मलमास मेला सुरु भएको छ। यस मन्दिरमा पनि एक महिनासम्म नारायणको पूजा, पुरुषोत्तम महात्म्य वाचन गरिने र यहाँका कुण्डमा स्नान गरी मन्दिरमा दर्शन गरे रोगव्याधि नष्ट हुने, पापकर्म नष्ट हुने जनविश्वास रहँदै आएकाले भक्तपुर नगरका बासिन्दाले यहाँ पूजा, दर्शन एवं स्नान गरेको मेला व्यवस्थापन समितिले जानकारी दिएको छ।

यस क्षेत्रमा प्राकृतिक सौन्दर्यता रहेको र यहाँ पार्क निर्माण गरेकाले बाह्रै महिना आन्तरिक पर्यटकको आगमन बढ्दो रहेको पुरीले बताउनुभयो। यस मन्दिरमा तीज र जनैपूर्णिमामा पनि मेला लाग्ने गरेको छ भने बालाचर्तुदशीमा महाद्वीप बाल्न र ६४ शिवलिङ्ग परिक्रमा गरी सद्बिज छर्न घुइँचो लाग्ने गरेको पुरी बताउँछन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट