Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

प्रहरी अनुगमन स्वागतयोग्य, दोषी प्रमाणित नभएसम्म विवरण सार्वजनिक नगर्न फेकनको आग्रह

प्रहरी अनुगमन स्वागतयोग्य, दोषी प्रमाणित नभएसम्म विवरण सार्वजनिक नगर्न फेकनको आग्रह

काठमाडौँ  :  स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) ले नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत प्रहरी प्रशासनद्वारा विभिन्न शैक्षिक परामर्श संस्थाहरूमा भइरहेको अनुगमन तथा निगरानी प्रक्रियाप्रति आफ्नो धारणा सार्वजनिक गरेको छ।संघले व्यवसायीहरूले इथिकल प्र्याक्टिस अपनाउँदै विद्यार्थी तथा अभिभावकको विश्वास कायम राख्नुपर्नेमा आफू सधैं प्रतिबद्ध रहेको उल्लेख गरेको छ।

विदेश अध्ययनका क्रममा विद्यार्थीहरूले बुझाउने ट्युसन फी लगायतका शुल्क नेपाल सरकारबाट नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) प्राप्त गरी बैंकिङ प्रणालीमार्फत विद्यार्थी स्वयंले सम्बन्धित शैक्षिक संस्थामा पठाउने भएकाले धरौटी वा अनावश्यक अतिरिक्त शुल्कको विषयलाई लिएर भ्रम सिर्जना गर्नु उपयुक्त नहुने फेकनको भनाइ छ। साथै, यस क्षेत्रमा केही विकृति तथा अस्वस्थ अभ्यास देखिएको सन्दर्भमा आफ्ना सदस्य संस्थाहरूलाई निरन्तर सचेत गराउँदै आवश्यक समन्वय तथा सुधारका पहल गर्दै आएको पनि संघले जनाएको छ।

फेकनले नेपाल सरकार तथा प्रहरी प्रशासनबाट भइरहेको हालको अनुगमन प्रक्रियालाई सकारात्मक रूपमा लिएको र स्वागत गरेको जनाएको छ। तर, सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायहरूको अनुगमन सम्पन्न गरेका केही शैक्षिक परामर्श संस्थाहरूले प्रदेश सामाजिक विकास मन्त्रालय, शिक्षा सम्बन्धी निकाय तथा अनुमति दिने सरकारी कार्यालयहरूबाट समयमै नवीकरण, दर्ता तथा स्वीकृतिपत्र प्राप्त गर्न नसक्दा व्यावसायिक कठिनाइ भोग्नुपरेको अवस्था रहेको संघले उल्लेख गरेको छ।

यस्ता विषयमा सम्बन्धित मन्त्रालय तथा निकायसँग आवश्यक यथार्थ बुझेर मात्र प्रहरी प्रशासनले थप संवेदनशीलता र समन्वयका साथ अनुगमन अभियान सञ्चालन गर्न फेकनले आग्रह गरेको छ।

त्यसैगरी, अनुसन्धान तथा सोधपुछको प्रक्रियामा रहेका व्यवसायीहरू अदालत वा सम्बन्धित निकायबाट दोषी प्रमाणित नभएसम्म उनीहरूको व्यक्तिगत विवरण, तस्वीर वा संस्थागत पहिचान सार्वजनिक गरिनु कानुनी तथा नैतिक दृष्टिले संवेदनशील विषय भएको फेकनको भनाइ छ। व्यवसायीहरूको गोपनीयता, प्रतिष्ठा तथा मनोबललाई मध्यनजर गर्दै यस्ता सामग्री अनावश्यक रूपमा सार्वजनिक नगर्न तथा जिम्मेवार ढंगबाट प्रस्तुत गर्न फेकनले सम्बन्धित प्रशासनिक निकाय र सञ्चारमाध्यमसँग अनुरोध गरेको छ।

शैक्षिक परामर्श क्षेत्रलाई अझ जिम्मेवार, व्यवस्थित, पारदर्शी तथा विद्यार्थीमैत्री बनाउन सरकार, सरोकारवाला निकाय तथा व्यवसायीहरूसँग सहकार्य गर्न आफूहरू प्रतिबद्ध रहेको फेकनले जनाएको छ।

700285712_1584645687002208_4170583082635016784_n_3rF1oIXKMm (1).jpg
undefined

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट