सुर्खेत : सल्यानको कालीमाटी गाउँपालिका–७, का वडाध्यक्ष मित्रलाल रिजाल वीरेन्द्रनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गेटैमा धर्नामा बसेको आइतबार तीन दिन भयो ।यद्यपि अहिलेसम्म उनको मागबारे प्रदेश सरकारले कुनै सुनुवाइ गरेको अवस्था छैन । उनी एमालेबाट निर्वाचित हुन् । उनकै पार्टीका नेता यामलाल कँडेल मुख्यमन्त्री छन् । मित्रलाल धर्ना बसिरहेकै स्थान भएर कँडेल गाडीमा ओहोर–दोहोर गरिरहन्छन् । तर आफूलाई बोलाएर मुख्यमन्त्रीले कहिल्यै मागबारे चासो नदेखाएका मित्रलाल गुनासो गर्छन् ।
‘हामी टेन्ट हालेर बसेका छौँ, खाना पनि यतै खाइरहेका छौँ,’ उनले थपे, ‘नजिकै खाना खाने ठाउँ छैन, कहिलेकाहीँ जंक फुड खाएरै दिन बितेको छ । मुख्यमन्त्रीज्यू आउजाउ गर्नुहुन्छ, तर हाम्रो कुरा न सुन्नुभएको छ न हामीलाई माथि बोलाउनु नै भएको छ ।’
उनी आफ्ना जनताले वर्षौंदेखि भोग्दै आएको सडक सास्ती अन्त्यको माग गर्दै धर्नामा बसेका हुन् । सुर्खेतसँगै सीमा जोडिएको बबई क्षेत्रबाट उनको वडामा जोड्ने बबई—स्वामीबास—घुइयाबारी सडकको स्तरवृद्धि गरिदिनुपर्ने उनको प्रमुख माग छ । यो सडक कोहलपुरदेखि सुर्खेत जोड्ने रत्न राजमार्गअन्तर्गत बबईदेखि उत्तरतर्फ पर्छ ।
भेरी–बबई डाइभर्सनको किनारै किनार १८ किलोमिटरमा उक्त सडक उनको वडामा प्रवेश गर्छ । उक्त सडकबाट सुर्खेतको भेरीगंगा नगरपालिका–५, सल्यानको कालीमाटीका ४, ६ र उनको ७ नम्बर जनता लाभान्वित हुनेछन् ।
‘के गर्ने सर, जनताहरू हाम्रो प्रतिनिधि तैं होस्, हामीलाई सँधै सडकको सास्ती कहिलेसम्म हो भनेर भन्छन्,’ आइतबार धर्ना स्थलमा रहेका उनले भने, ‘विगत चार वर्षमा मैले सडक स्तरोन्नतिबारे ठाउँ–ठाउँ धाएँ, तर सुनुवाइ भएन ।’
आफू निर्वाचित भएदेखि उक्त सडकबारे लगातार मुख्यमन्त्री कार्यालय र भौतिक पूर्वाधार मन्त्रालयमा फाइल बुझाउँदै आएको उनले बताए, तर पनि बजेट सुनिश्चित नभएका उनको गुनासो छ । पटक–पटक अनुरोध गर्दा पनि प्रदेश सरकारले बेवास्ता गरेपछि जनताको प्रतिनिधित्व गर्दै धर्नामा बस्न आएको बताउँछन् मित्रलाल । उता वडामा भने कामको चाङ बढिरहेको छ । ‘तर पनि बाध्यताले काँधमा झोला भिरेर शुक्रबार यहाँ आइपुगेको हुँ,’ उनले भने ।
उनीसँगै धर्नामा वडा सदस्य विर्षबहादुर राना, सामाजिक अभियन्ता हिमाल पुन र वडा प्राविधिक मनोज बास्कोटा पनि छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij