Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

प्रधानमन्त्री बालेन्द्र शाहको पोस्टपछि याक चिजको क्रेज बढ्यो, भरतपुरमा बिक्री सुरु

प्रधानमन्त्री बालेन्द्र शाहको पोस्टपछि याक चिजको क्रेज बढ्यो, भरतपुरमा बिक्री सुरु

चितवन : चितवनको बजारमा समेत याक चिज उपलब्ध गराइएको छ ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले भरतपुर–१० दूरसञ्चार रोडमा सञ्चालन गरेको डेरी मार्टमा याक चिज बिक्रीका लागि राखिएको जनाएको छ । प्रधानमन्त्रीको पोस्टपछि उपभोक्तामाझ याक चिजप्रति आकर्षण बढेको र माग उच्च भएपछि चितवनमा आपूर्ति सुरु गरिएको डीडीसीका जनरल म्यानेजर डा. शरणकुमार पाण्डे ले जानकारी दिनुभयो ।

उहाँका अनुसार हाललाई भरतपुरमा याक चिज पठाइएको भए पनि मागअनुसार अन्य स्थानमा समेत पठाउन सकिनेछ । डीडीसीसँग हाल तीन हजार पाँच सय केजीभन्दा बढी याक चिज मौज्दात रहेको र देशभरका १४ उत्पादन केन्द्रबाट वार्षिक करिब २५ हजार केजीभन्दा बढी चिज उत्पादन हुँदै आएको उहाँले बताउनुभयो ।

हाल डीडीसीले याक चिज प्रतिकेजी एक हजार ६ सय रुपैयाँमा बिक्री गरिरहेको छ । डेरी मार्टमा याक चिजसँगै डीडीसीका अन्य दुग्धजन्य उत्पादनहरू पनि उपलब्ध छन् । उपभोक्ताले विशेषगरी फ्रेस मिल्क बढी खोज्ने गरेको जनाइएको छ ।

हिमाली क्षेत्रमा पाइने याक तथा चौँरीको दूधबाट तयार गरिने याक चिजलाई अर्गानिक र पौष्टिक खाद्य पदार्थका रूपमा लिइन्छ । तीन हजार मिटरभन्दा माथिको हिमाली क्षेत्रमा चरिचरन गर्ने चौँरीले विभिन्न जडिबुटी, फूल तथा प्राकृतिक घाँसपात खाने भएकाले त्यसको प्रभाव दूध र चिजमा समेत पर्ने विश्वास गरिन्छ ।

विशेषज्ञहरूका अनुसार याक चिजमा प्रोटिन, क्याल्सियम, ओमेगा–३ फ्याटी एसिड तथा विभिन्न भिटामिन प्रशस्त मात्रामा पाइन्छ । साथै यसमा प्राकृतिक स्वाद र सुगन्ध हुने भएकाले पनि उपभोक्तामाझ यसको लोकप्रियता बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij