Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

अवैध रूपमा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका यार्सापाटन पुगेका १५ जना पक्राउ

अवैध रूपमा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका यार्सापाटन पुगेका १५ जना पक्राउ

डोल्पा : डोल्पाका विभिन्न यार्सापाटनमा अवैध रूपमा प्रवेश गरी यार्सागुम्बा संकलन गरिरहेका १५ जना पक्राउ परेका छन् । उनीहरूलाई सुरक्षाकर्मी र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले पक्राउ गरेको हो ।

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने कोर क्षेत्र तथा विभिन्न पाटनबाट ती १५ जना पक्राउ परेको राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । कार्यालयका अनुसार निकुञ्जको सुरक्षार्थ खटिएको श्रीसंग्राम शार्दुल गुल्मअन्तर्गत सुरक्षा पोष्ट तोइजुमबाट नेपाली सेना र निकुञ्ज कर्मचारीको संयुक्त गस्ती टोलीले दुई छुट्टाछुट्टै स्थानबाट उनीहरू पक्राउ गरेको हो ।

जसमा शुक्रबार बिहान जगदुल्ला गाउँपालिका–१ स्थित रिखे पुलबाट टाङटुङ्गे पाटनतर्फ जाँदै गरेका ९ जना पक्राउ परेका छन् । पक्राउृ पर्नेमा जगदुल्ला–३ थापागाउँकी ४२ वर्षीय रमिला बिक, १३ वर्षीय सर्वन बिक, जुम्लाको गुठीचौर गाउँपालिका–१ की ३८ वर्षीय कलौती कामी, ३६ वर्षीय रूपलाल बिक, १६ वर्षीय लालप्रसाद बिक, २० वर्षीय प्रकाश बिक, २० वर्षीय फूलमाया बिक, १५ वर्षीय निराजन बिक, १३ वर्षीय सुनिल बिक रहेका छन् ।

यस्तै शुक्रबारै साँझ ७ बजे जगदुल्ला गाउँपालिका–१ अन्तर्गत शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कोर क्षेत्र फूलबारी पाटनबाट ६ जना पक्राउ परेको निकुञ्ज कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा जगदुल्ला–१ हुरीकोटका १५ वर्षीय निशेष रावल, जुम्लाको पातारासी गाउँपालिका–५ का १९ वर्षीय प्रवीण बुढा, १७ वर्षीय सन्दीप महतारा, १७ वर्षीय दिनेश बोहरा, ४६ वर्षीय धर्मदत्त महतारा र २६ वर्षीय वीरबहादुर बुढा रहेका छन् ।

पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा राखिएको छ । निकुञ्ज प्रशासनले अनुमतिबिना कोर क्षेत्रमा प्रवेश गरी यार्सागुम्बा संकलन गर्ने कार्य गैरकानुनी भएको भन्दै यस्ता गतिविधि नियन्त्रणमा कडाइ गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट