Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

एसइईमा ४ जीपीए ल्याएकी तेजस्वीलाई १ लाखसहित सम्मान

एसइईमा ४ जीपीए ल्याएकी तेजस्वीलाई १ लाखसहित सम्मान

गैडाकोट :

गैडाकोट : सामान्य परिवारकी छोरी तेजस्वी पन्तले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४ जीपीए ल्याएर परिवार, विद्यालय र समाजलाई गौरवान्वित बनाएकी छन् । उत्कृष्ट नतिजापछि उनलाई गैँडाकोट इङ्लिस स्कुलले १ लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ ।

सानैदेखि एस्ट्रोनट बन्ने सपना बोकेकी तेजस्वी अहिले भने मेडिकल क्षेत्रमा भविष्य बनाउन चाहन्छिन् । “सानैदेखिको लक्ष्य एस्ट्रोनट बन्ने थियो, तर अहिले मेडिकल फिल्डतिर आकर्षण बढेको छ । अपरेशनसम्बन्धी विषय मलाई निकै मन पर्छ,” उनले भनिन् ।

तेजस्वीको सफलतामा परिवारको साथ महत्वपूर्ण बनेको छ । उनका बुवा कृष्णप्रसाद पन्त कानून व्यवसायी हुन् भने आमा गृहिणी । पढाइका क्रममा आमाले निरन्तर साथ दिएको उनी सम्झिन्छिन् । “राति अबेरसम्म पढ्दा आमाले कफी–चिया बनाएर दिनुहुन्थ्यो । मेरा कुरा सुन्नुहुन्थ्यो,” उनले भनिन् ।

उनका दाजुले पनि निरन्तर हौसला र प्रेरणा दिएको परिवारले जनाएको छ । हाल उनका दाजु काठमाडौंमा आईटी क्षेत्रमा कार्यरत छन् । विद्यालयका प्राचार्य हिरालाल अर्यालले तेजस्वी मेहनती, अनुशासित र लक्ष्यप्रति स्पष्ट विद्यार्थी भएको बताए । “उनी निरन्तर सिक्न चाहने र मेहनत गर्न नथाक्ने विद्यार्थी हुन्,” उनले भने । विद्यालयले प्रतिभावान विद्यार्थीलाई प्रोत्साहन गर्न यस्ता सम्मान कार्यक्रमलाई निरन्तरता दिने पनि उनले जानकारी दिए ।

सम्मान समारोहमा बुवा कृष्णप्रसाद पन्त छोरीको सफलताप्रति भावुक बने । उनले विद्यालयले दिएको सम्मानलाई आफ्नो जीवनकै ठूलो उपलब्धि भएको बताए । “यो पुरस्कार हाम्रो लागि करोड बराबरको हो,” उनले भने । सानो घरबाट ठूलो सपना बोकेर अघि बढेकी तेजस्वीको सफलता अहिले धेरै विद्यार्थीका लागि प्रेरणाको स्रोत बनेको छ ।

 
 
 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट