भरतपुर : चितवनको माडी नगरपालिका–५ बसन्तपुरस्थित पिसल्याण्ड इङ्लिस स्कुलमा एक शिक्षकले विद्यार्थीलाई पाइपले कुटपिट गरेको घटना सार्वजनिक भएको छ ।
विद्यालयको कक्षा ८ मा अध्ययनरत १४ वर्षीय दीपसन लम्साललाई विज्ञान विषयका शिक्षक विश्व अवतार घलेले पाइपले कुटपिट गर्दा शरीरमा निलडाम र चोट लागेको परिवारले जनाएको छ । घाइते विद्यार्थीको बघौडा अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।
पीडित परिवारका अनुसार शुक्रबार अन्तिम पिरियड सुरु हुनुअघि दीपसन दुई जना साथीहरूसँग पिसाब फेर्न कक्षाबाहिर गएका थिए । उनीहरू फर्किंदा शिक्षक कक्षामा आइसकेका थिए । त्यसपछि शिक्षक घलेले आफू आउँदा विद्यार्थी बाहिर रहेको भन्दै तीनै जनालाई कुटपिट गरेको आरोप लगाइएको छ ।
विद्यार्थीकी आमा पद्माकुमारी लम्सालले छोराको शरीरमा चोटपटक देखिएपछि विद्यालय प्रशासनलाई जानकारी गराए पनि बेवास्ता गरिएको गुनासो गरिन् । घटनापछि परिवारले इलाका प्रहरी कार्यालय माडीमा उजुरी दिएको छ ।
इलाका प्रहरी कार्यालय माडीका वरिष्ठ प्रहरी नायब निरीक्षक नारायण जोशीले घटनाबारे उजुरी प्राप्त भएको पुष्टि गर्दै दुवै पक्षलाई बोलाएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइने जानकारी दिए । उनले छलफलपछि थप निर्णय गरिने बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij