Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

नवलपुरको नेपाल माविले ४ जीपीए ल्याउने विद्यार्थीलाई ७५ हजारसहित सम्मान गर्‍यो

नवलपुरको नेपाल माविले ४ जीपीए ल्याउने विद्यार्थीलाई ७५ हजारसहित सम्मान गर्‍यो

नवलपुर : माध्यमिक शिक्षा परीक्षा एसइइमा ४ जीपीए ल्याएका विद्यार्थीलाई नगद ७५ हजार रुपैयाँ सहित पुरस्कृत गर्दै खुसियाली साटासाट गरिएको छ ।

 नवलपुरको देवचुली नगरपालिकामा रहेको नेपाल नमुना माध्यमिक विद्यालयले शुक्रबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी एसइइ २०८२ मा ४ जीपीए ल्याएका आर्जन अधिकारीलाई नगद ७५ हजार रुपैयाँ सहित सम्पूर्ण विद्यार्थीहरूलाई सम्मान गरेको छ। विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवनकुमार बुढाथोकीको अध्यक्षता र शिक्षा युवा तथा खेलकुद शाखा, देवचुली नगरपालिकाका प्रमुख रामप्रसाद शर्माको प्रमुख आतिथ्यतामा बधाई सम्मान तथा शुभकामना कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा उत्कृष्ट अङ्क ल्याई एसइइ परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्नुहुँदै विद्यालयका प्रधानाध्यापक शिवप्रसाद देवकोटाले विद्यालयले विगतका वर्षहरूमा पनि उत्कृष्ट नतिजा ल्याइरहेको स्मरण गर्दै यस वर्षको एसइइको नतिजाले विद्यालयलाई उत्कृष्ट नतिजाको निरन्तरताका लागि थप जिम्मेवार बनाएको बताउनुभयो । उहाँले नेपाल नमुना माध्यमिक विद्यालय नवलपुर जिल्लामा मात्र नभई गण्डकी प्रदेशमै उत्कृष्ट विद्यालय रहेको स्मरण गर्दै शिक्षकहरूको लगनशीलता, अभिभावकहरूको विश्वास, विद्यार्थीहरूको मेहनत र विद्यालय व्यवस्थापन समितिको उचित मार्ग निर्देशनले सफलता प्राप्त भएको बताउनुभयो ।

उत्कृष्ट नतिजाको खुसियाली साटासाट गर्न विद्यालयमा पन्चेबाजा बजाएर नाचगान समेत गरिएको थियो। सो अवसरमा ४ जीपीए ल्याउने आर्जन अधिकारीका अभिभावकसहित अन्य अभिभावकहरू समेत नाचगान गरी खुसियाली मनाएका थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवनकुमार बुढाथोकीले सम्पूर्ण सरोकारवालाहरूको रचनात्मक सहकार्यले नेपाल माविले गौरवको नतिजा प्राप्त गरेको बताउनुभयो। बधाई सम्मान तथा शुभकामना कार्यक्रममा नगरका जनप्रतिनिधि, शैक्षिक सरोकारका विभिन्न व्यक्तित्व, शिक्षक कर्मचारी, अभिभावक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण शिक्षक दीपक सुवेदीले गर्नुभएको थियो।

यस वर्ष नेपाल नमुना माध्यमिक विद्यालयबाट एसइइ परीक्षामा १ सय २४ जना विद्यार्थी सहभागी भएका थिए। जसमा एकजना विद्यार्थी आर्जन अधिकारीको ४ जीपीएसहित ९७ जना विद्यार्थी ग्रेडेड भएका थिए। विद्यालयले ७८.२ प्रतिशत नतिजा प्राप्त गरेको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट