चितवन : भरतपुर महानगरपालिकाले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, २०६८ लाई महानगर क्षेत्रभित्र कडाइका साथ कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाएको छ। महानगरपालिकाको कार्यालयले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै नगर क्षेत्रभित्रका सबै सरकारी तथा गैरसरकारी कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था र सार्वजनिक स्थलहरूमा धूमपान र सुर्तीजन्य पदार्थको सेवन, बिक्री र विज्ञापनमा पूर्ण रोक लगाएको हो।
महानगरका अनुसार अबदेखि होटल, रेस्टुरेन्ट, सार्वजनिक यातायात र व्यापारिक प्रतिष्ठान जस्ता भीडभाड हुने ठाउँमा धूमपान गर्न पाइने छैन। जनस्वास्थ्यमा गम्भीर असर पुर्याउने सुर्तीजन्य वस्तुको प्रयोगलाई निरुत्साहित गर्न महानगरले १८ वर्ष मुनिका बालबालिकालाई यस्ता पदार्थको बिक्री-वितरणमा समेत पूर्ण प्रतिबन्ध लगाएको छ। विशेषगरी विद्यालय, स्वास्थ्य संस्था र बालबालिकासँग सम्बन्धित क्षेत्रको आसपासमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने व्यवस्थालाई कडाइका साथ लागू गरिने भएको छ।
यसैगरी, महानगरले चुरोट, बिँडी वा सिगारको फुटकर खिल्ली बिक्रीमा रोक लगाउँदै यस्ता पदार्थको कुनै पनि माध्यमबाट विज्ञापन वा प्रचारप्रसार गर्न नपाइने स्पष्ट पारेको छ। प्रत्येक सार्वजनिक निकायले आफ्नो परिसरमा अनिवार्य रूपमा ‘धूमपान निषेध क्षेत्र’ को सूचना पाटी राख्नुपर्ने र ऐनको बर्खिलाप गर्ने जोसुकैलाई प्रचलित कानुन बमोजिम कानुनी कारबाही गरिने चेतावनी समेत दिइएको छ।
महानगरले थप संवेदनशीलता अपनाउँदै विद्यालय पोशाकमा रहेका विद्यार्थीहरूलाई चुरोट, ई-सिगरेट र भेप जस्ता सामग्री बिक्री नगर्न र नगराउन सबै सरोकारवालालाई विशेष आग्रह गरेको छ। प्रमुख प्रशासकीय अधिकृतद्वारा जारी यो सूचनाले नगरको जनस्वास्थ्य सुरक्षा र स्वच्छ वातावरण निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij