भरतपुर : निर्माण व्यवसायी संघ चितवनले निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धि र अभावका कारण साविक दररेटमा काम गर्न नसकिने भन्दै जिल्लाका सरकारी कार्यालयहरूमा धर्ना तथा ज्ञापनपत्र बुझाएको छ। संघले बुधबार जिल्ला प्रशासन कार्यालय चितवनबाट शान्तिपूर्ण आन्दोलन सुरु गरेकोमा बिहीबार पूर्वाधार विकास कार्यालय, सडक डिभिजन कार्यालय र भरतपुर महानगरपालिका मा धर्नासहित ज्ञापनपत्र बुझाएको जनाएको छ।
संघका अध्यक्ष दिनेशचन्द्र न्यौपानेले निर्माण सामग्रीको चर्को मूल्यवृद्धिका कारण व्यवसायीहरू मानसिक तथा आर्थिक संकटमा परेको बताए। उनले माग सम्बोधन नभए निर्माण कार्य ठप्प पार्ने, उपकरण तथा साधनको चाबी सरकारलाई हस्तान्तरण गर्ने लगायत थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिए। उनका अनुसार हालकै मूल्यमा काम गर्दा अधिकांश निर्माण व्यवसायी विस्थापित हुने र घरजग्गासमेत गुमाउने अवस्था सिर्जना हुने भएकाले निर्माण कार्य अघि बढाउन नसकिने स्थिति बनेको छ।
संघका महासचिव पुष्कर अधिकारीले निर्माण सामग्रीको मूल्यवृद्धि समायोजनका लागि पटक–पटक आग्रह गर्दा पनि सरकारले बेवास्ता गरेको आरोप लगाए। उनले हालको परिस्थितिमा अधिकांश आयोजना तोकिएको समयमा सम्पन्न हुन नसक्ने भएकाले बैंक ग्यारेन्टी, इन्स्योरेन्स तथा थप क्षतिपूर्ति व्यवस्थासहित आयोजनाको म्याद थप र बजेट व्यवस्थापन गर्न सरकारसँग माग गरिएको जानकारी दिए। नेपाल निर्माण व्यवसायी महासंघले यसअघि नै सरकारलाई ध्यानाकर्षण गराउँदै अल्टिमेटमसहित पत्रकार सम्मेलन गरेको थियो। माग सुनुवाइ नभएको भन्दै अहिले देशभरका निर्माण व्यवसायी आन्दोलनमा उत्रिएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij