Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

डिजेल र पेट्रोलको खपतमा गिरावट, हवाई इन्धनको माग बढ्यो

डिजेल र पेट्रोलको खपतमा गिरावट, हवाई इन्धनको माग बढ्यो

विराटनगर : चैत महिनाको तुलनामा वैशाख महिनामा नेपालमा अधिकांश पेट्रोलियम पदार्थको खपत घटेको तथ्याङ्कले देखाएको छ । पश्चिम एसियामा देखिएको तनावसँगै पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएपछि सरकारले खपत घटाउनका लागि गएको चैत २१ गतेदेखि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । उक्त निर्णयको प्रभाव र निर्माण क्षेत्रमा देखिएको सुस्तताका कारण पेट्रोलियम पदार्थको खपतमा कमी आएको हो ।

पछिल्लो रिपोर्टअनुसार पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको खपतमा कमी आएको छ भने हवाई इन्धनको खपतमा भने केही वृद्धि भएको छ । तथ्याङ्कअनुसार सबैभन्दा ठुलो गिरावट डिजेलको खपतमा देखिएको छ । चैत महिनामा १ लाख ४० हजार २९ किलोलिटर डिजेल खपत भएकोमा वैशाख महिनामा घटेर १ लाख २ हजार ७१ किलोलिटरमा सीमित भएको छ । यो करिब ३७ हजार किलोलिटरको गिरावट हो ।

त्यसैगरी, पेट्रोलको खपतमा पनि सामान्य कमी आएको छ । चैतमा ५९ हजार ९३८ किलोलिटर पेट्रोल खपत भएकोमा वैशाखमा घटेर ५८ हजार ६८० किलोलिटर पुगेको छ । मट्टितेलको खपतमा भारी मात्रामा कमी आएको देखिन्छ । चैत महिनामा १ हजार २८३ किलोलिटर मट्टितेल प्रयोग भएकोमा वैशाखमा जम्मा २४८ किलोलिटर मात्र खपत भएको छ ।

खाना पकाउने एलपी ग्यासको खपत पनि घटेको छ । चैतमा ३८ हजार ७९९ मेट्रिक टन ग्यास खपत भएकोमा वैशाख महिनामा घटेर ३२ हजार ५६ मेट्रिक टनमा झरेको छ । अन्य सबै प्रकारका इन्धनको खपत घटिरहँदा हवाई इन्धनको खपत भने बढेको छ । चैत महिनामा १८ हजार २४४ किलोलिटर हवाई इन्धन खपत भएकोमा वैशाख महिनामा बढेर १९ हजार ५५२ किलोलिटर पुगेको तथ्याङ्कले देखाएको छ ।

बढ्दो व्यापार घाटालाई कम गर्न सरकारले गत चैत २२ गतेदेखि सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको थियो । सोही नीतिपछि बजारमा पेट्रोलियम पदार्थको मागमा उल्लेख्य गिरावट देखिएको तथ्याङ्क छ । तर इन्धनको खपत घट्नुको कारण यो मात्रै नभएको नेपाल आयल निगमले जनाएको छ ।

नेपाल आयल निगमले सार्वजनिक बिदा दुई दिन हुनुभन्दा अगाडि चैत महिनाको २१ गतेसम्मको र चैत २२ गतेदेखि वैशाख १२ गतेसम्मको तुलनात्मक विवरण पनि उपलब्ध गराएको छ । सो विवरण अनुसार चैत १ गतेदेखि २१ गतेसम्म देशभर ४३ हजार १३२ किलोलिटर (४ करोड ३१ लाख ३२ हजार लिटर) पेट्रोल र १ लाख ५ हजार ७७० किलोलिटर (१० करोड ५७ लाख ७० हजार लिटर) डिजेल खपत भएको थियो ।

तर, विदाको निर्णय लागू भएको २१ दिन अर्थात् चैत २२ देखि वैशाख १२ गतेसम्मको अवधिमा पेट्रोलको खपत घटेर ३८ हजार ६२२ किलोलिटरमा खुम्चिएको छ । यो अघिल्लो २१ दिनको तुलनामा ४ हजार ५१० किलोलिटर (करिब १०.४५ प्रतिशत) को गिरावट हो । त्यस्तै, डिजेलको खपतमा त झनै निकै ठुलो गिरावट देखिएको छ । पछिल्लो २१ दिनमा ७३ हजार ३६७ किलोलिटर मात्र डिजेल बिक्री भएको छ, जुन अघिल्लो अवधिको तुलनामा ३२ हजार ४०३ किलोलिटर (करिब ३०.६३ प्रतिशत) ले कम हो ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुर सार्वजनिक बिदा थप भएपछि पेट्रोलको खपतमा कमी आएको मान्न सकिए पनि डिजेलको खपत घट्नुमा अरू नै कारण रहेको हुनसक्ने उनको भनाइ छ । ‘निर्माण सामाग्रीको मूल्य वृद्धिको कारण काम सुस्त हुँदा पनि डिजेलको खपत घटेको हो,’ ठाकुरले भने । देशभरका निर्माण व्यवसायीहरूले निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धिका कारण काम बन्द गरेका छन् । ‘निर्माण क्षेत्रमा पर्याप्त इन्धन पाइएको छैन । अहिले काम पनि ठप्प छ,’ निर्माण व्यवसायी विनोद घिमिरेले भने । यसबाहेक औद्योगिक प्रतिष्ठानहरूले पनि लागत वृद्धिका कारण उत्पादन क्षमता घटाएका छन्, जसले ढुवानीका साधनको आवागमन कम गराएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट