Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

अमेरिका र चीनबीच व्यापार सम्झौतामा जुटेन सहमति

अमेरिका र चीनबीच व्यापार सम्झौतामा जुटेन सहमति

काठमाडौंः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको छलफलमा कुनै ठूलो व्यापार सम्झौता हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। 

अमेरिका र चीनबीच गत वर्ष अक्टोबरमा व्यापार युद्ध रोक्ने सहमति भएको थियो। उक्त सम्झौताअन्तर्गत अमेरिकाले चिनियाँ सामानहरूमा प्रस्तावित भारी भन्सार कर वृद्धि रोकिरहेको छ। चीनले दुर्लभ खनिज निर्यातमा लगाएको कडाइ केही कम गरेको थियो।

ह्वाइट हाउसकाअनुसार बारम्बार ट्यारिफका विषयमा छलफल गरिरहनुपर्ने अवस्था अन्त्य गर्न दुवै नेताहरू ‘बोर्ड अफ ट्रेड’ गठन गर्न सहमत भएका छन्। यसको उद्देश्य व्यापारिक सम्बन्धलाई व्यवस्थित बनाउनु हो। यद्यपि, अमेरिकी अधिकारीहरूका अनुसार यो व्यवस्थालाई पूर्ण रूपमा लागु गर्न अझै धेरै काम बाँकी छ।अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले भ्रमणका क्रममा बोइङको ठूलो अर्डर तथा अमेरिकी ऊर्जा र कृषि उत्पादनहरूको चिनियाँ खरिदसँग सम्बन्धित घोषणा हुनसक्ने बताएका छन्। बुधबार सुरु भएको ट्रम्पको भ्रमणमा व्यापारिक जगतको उपस्थितिको पनि व्यापक चर्चा भएको छ।

ट्रम्पले आफूले अमेरिकाका दर्जनौँ शीर्ष व्यवसायीहरूको प्रतिनिधिमण्डल साथमा ल्याएको बताएका छन्, जसमा टेस्लाका सीईओ एलन मस्क र एनभीडीयाका सीईओ जेन्सेन हुआङ समावेश छन्। यी दुवै कम्पनी अमेरिका–चीन आर्थिक सम्बन्धका सबैभन्दा संवेदनशील कडी मानिन्छन्।

टेस्लाको चीनस्थित शांघाई प्लान्ट र त्यहाँका ग्राहकहरूमाथि ठूलो निर्भरता छ। उता, एनभीडीयाका माइक्रोचिपहरू वैश्विक एआई प्रतिस्पर्धाको केन्द्रमा छन्।

अमेरिकाले यसअघि नै चीनलाई उन्नत कम्प्युटिङ प्रविधिमा पहुँच सीमित गर्न निर्यात नियन्त्रणसम्बन्धी धेरै कदमहरू चालिसकेको छ। जेन्सेन हुआङको नाम प्रतिनिधिमण्डलको प्रारम्भिक सूचीमा थिएन। यसले एआई र सेमिकन्डक्टर चिप्ससम्म चीनको पहुँच वार्ताको मुख्य हिस्सा हुनसक्ने अड्कलबाजीलाई थप पुष्टि गरेको छ।

आज ट्रम्पको भ्रमणको दोस्रो दिन हो। दुई देशका राष्ट्रपतिबीच अन्य केही मुद्दाहरूमा थप छलफल हुनसक्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट