Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

संसदमा प्रधानमन्त्रीको पोशाक र व्यवहार ‘अशोभनीय’ : सांसद बराल

संसदमा प्रधानमन्त्रीको पोशाक र व्यवहार ‘अशोभनीय’ : सांसद बराल

काठमाडौँ : नेकपा एमालेले प्रधानमन्त्रीको पोशाक र संसदीय मर्यादाप्रति आपत्ति प्रकट गरेको छ। संघीय संसदको संयुक्त बैठकमा सांसद गुरु बराल बरालले राष्ट्रिय पहिचान र सुशासनका लागि प्रधानमन्त्रीले राष्ट्रिय पोशाकको पालना गर्नुपर्ने विषयमा सभामुखको ध्यानाकर्षण गरेका हुन्।

बैठकमा विशेष समय लिएर बोल्दै सांसद बरालले राष्ट्रिय महत्वका बैठकहरूमा देशको कार्यकारी प्रमुखले राष्ट्रिय पोशाक लगाउनुपर्नेमा जोड दिए। त्यसैगरी, राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्रीले देखाएको व्यवहारप्रति पनि उनले प्रश्न उठाएका छन्। 
नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रक्रियामा प्रधानमन्त्रीले सम्बोधनको बीचैमा बाहिरिएर बहिष्कार गरेको भन्दै बरालले यसबाट नीति तथा कार्यक्रमप्रति सरकारको अपनत्व माथि संशय उत्पन्न भएको बताए। 

‘आज देशले सुशासन र राष्ट्रिय मर्यादासँगै राष्ट्रिय पहिचानको माग गरेको छ।  प्रधानमन्त्रीज्यूले संयुक्त सदनको बैठकमा राष्ट्रिय पोशाकको परिपालना गर्नुपर्ने हो कि होइन?’, उनले भने, ‘हामीले कस्तो थिति बसाल्ने हो, म सभामुख महोदयमार्फत यो विषयमा रुलिङको माग गर्दछु।’

संसदीय मर्यादाको उल्लंघन भएको दाबी गर्दै बरालले राष्ट्रपतिको सम्बोधन चलिरहेका बेला प्रधानमन्त्रीले करिब १५ मिनेटसम्म संवादमा अल्झिएर बसेको विषयलाई ‘अशोभनीय’ संज्ञा दिनुभयो । 

‘बैठकको निश्चित मर्यादा हुन्छ । राष्ट्रपतिको संबोधन भइरहँदा प्रधानमन्त्रीज्यूले संवाद र छलफलमा समय बिताउनु संसदीय मर्यादाविपरित छ’, उनले भने, ‘यस्ता गतिविधि रेकर्डबाट हटाइनुपर्छ ताकि भविष्यका लागि सही नजिर बसोस्।’

सांसद बरालको जिज्ञासा र ध्यानाकर्षणपछि सभामुखले उक्त विषयमा आफ्नो ध्यानाकर्षण भएको जानकारी गराएका थिए। सभामुखले यस विषयमा अध्ययन गर्न र सत्यतथ्य बुझ्न संसद सचिवालयलाई निर्देशन समेत दिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट