Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

महिनौँ बित्दा पनि चितवनका दुग्ध किसानले पाएनन् भुक्तानी

महिनौँ बित्दा पनि चितवनका दुग्ध किसानले पाएनन् भुक्तानी

चितवन : चितवनका दुग्ध उत्पादक किसानले हालसम्म करिब ५५ करोड रुपैयाँ भुक्तानी पाउन सकेका छैनन् । दुग्ध विकास संस्थान (डीडीसी) तथा निजी दुग्ध उद्योगहरूले समयमै रकम भुक्तानी नगर्दा जिल्लाका हजारौं किसान आर्थिक समस्यामा परेका हुन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेका अनुसार डीडीसीले पुस महिनादेखिको भुक्तानी रोकेको छ भने निजी क्षेत्रका उद्योगहरूले समेत तीन महिनादेखिको रकम किसानलाई दिएका छैनन् ।

उनका अनुसार जिल्लाबाट दूध संकलन गर्ने उद्योगमध्ये करिब २५ प्रतिशतले मात्रै नियमित भुक्तानी गरिरहेका छन् । बाँकी उद्योगले रकम रोक्दा किसान दैनिक खर्च चलाउनसमेत कठिनाइ भोग्न बाध्य भएका छन् । चितवनमा दैनिक करिब ३ लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । जिल्लाका ११५ वटा दुग्ध उत्पादन सहकारीमार्फत करिब ४० हजार किसानले उत्पादन गरेको दूध बिक्री वितरण हुँदै आएको संघले जनाएको छ ।

नयाँ सरकार गठनपछि भुक्तानी समस्या समाधान हुने आशामा रहेका किसानहरू अहिले पुनः निराश बन्न थालेका छन् । समयमै रकम नपाउँदा पशुपालन व्यवसाय नै संकटमा पर्ने अवस्था आएको किसानहरूको गुनासो छ । भुक्तानी समस्याकै बीच संघले आफ्ना दुग्धजन्य उत्पादनको बजारीकरणलाई प्राथमिकता दिँदै भरतपुर महानगरपालिका–१० को दूरसञ्चार रोड, चितवन मेडिकल कलेज पछाडि तथा वडा नम्बर–३ को बेलचोकमा डेरी मार्ट सञ्चालनमा ल्याएको जनाएको छ । संघको रत्ननगरस्थित आफ्नै डेरी उद्योगबाट उत्पादित दूध, घ्यू, पनिर, नौनी, खुवा, मोहीलगायत सामग्री ती मार्टमार्फत बिक्री वितरण भइरहेको अध्यक्ष बगालेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट