Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

फरार अपराधी पक्राउमा एसपी पुरीको सफलता : ग्यारेज कर्मचारीको हत्या प्रकरण: दुई जना पक्राउ, सामाजिक सञ्जाल विवाद कारण खुलासा !

फरार अपराधी पक्राउमा एसपी पुरीको सफलता : ग्यारेज कर्मचारीको हत्या प्रकरण: दुई जना पक्राउ, सामाजिक सञ्जाल विवाद कारण खुलासा !

चितवन : चितवनको भरतपुर महानगरपालिका–७ बुद्धचोकस्थित एक अटो ग्यारेजमा कार्यरत युवकको हत्या प्रकरणमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानले मिल्ने साथीबीचको सामाजिक सञ्जाल विवाद नै घटनाको मुख्य कारण भएको खुलेको छ । गत वैशाख २२ गते राति करिब ११ः५० बजे भरतपुर–७ स्थित सम्भव अटो पसलमा काम गर्दै आएका करिब ३० वर्षीय आशिष खनालमाथि धारिलो हतियार प्रहार भएको थियो ।

गम्भीर घाइते अवस्थामा उनलाई तत्काल भरतपुर सरकारी अस्पताल लगिए पनि उपचारको क्रममा वैशाख २३ गते राति १२ः२० बजे चिकित्सकले मृत घोषणा गरेका थिए । घटनापछि इलाका प्रहरी कार्यालय कृष्णपुरबाट प्रहरी निरीक्षक अनिलकुमार झाको नेतृत्वमा अनुसन्धान टोली परिचालन गरिएको थियो । प्रारम्भिक अनुसन्धानमा मृतकलाई २० देखि २२ पटकसम्म धारिलो हतियार प्रहार गरिएको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक र आरोपीहरू फरक–फरक ग्यारेजमा काम गर्ने भए पनि उनीहरू घनिष्ठ साथी थिए ।

सामाजिक सञ्जालमा भएको भनाभन र व्यक्तिगत विवाद बढ्दै जाँदा घटना हिंसात्मक रूपमा परिणत भएको अनुसन्धानबाट देखिएको छ । घटनापछि फरार रहेका मुख्य आरोपी पोखराको पृथ्वीचोक क्षेत्रमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन् । उनले सामाजिक सञ्जाल बन्द गर्नुका साथै मोबाइल फोनसमेत अफ गरी लुकिछिपी बस्दै आएका थिए । प्रहरीको पाँच दिन लामो खोजीपछि उनी पक्राउ परेका हुन् । पक्राउ परेका २७ र ३२ वर्षका दुई युवामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट