Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

भरतपुरका स्कुल बसलाई निर्देशिका कार्यान्वयन गर्न ट्राफिक प्रहरीको निर्देशन

भरतपुरका स्कुल बसलाई निर्देशिका कार्यान्वयन गर्न ट्राफिक प्रहरीको निर्देशन

चितवन : भरतपुर महानगरपालिकाभित्र सञ्चालित स्कुल बसलाई निर्देशिका कार्यान्वयन गर्न निर्देशन दिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले महानगर क्षेत्रमा सञ्चालित स्कुल बसको यान्त्रिक परीक्षण तथा चालकको स्वास्थ्य परीक्षण गरेको थियो ।

तीन दिन लगाएर गरिएको परीक्षणका क्रममा निर्देशिका कार्यन्वयन नभएको पाइएपछि स्कुल बसलाई तत्काल स्कुल बस निर्देशिका, २०७४ कार्यान्वयनका लागि निर्देशन दिइएको हो ।

कार्यालयले यही वैशाख २३ देखि २५ गतेसम्म विद्यालयका बसको यान्त्रिक परीक्षण तथा सवारी चालकको स्वास्थ्य परीक्षण गरेको थियो । सो क्रममा २५० जना सवारीचालक तथा परिचालकको स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयले वैशाख २४ र २५ गते वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागको सहयोगमा वायु प्रदूषण मापन गरेको थियो । सार्वजनिक र विद्यालयका १७३ वटा बसको वायु प्रदूषण मापन गरिएको प्रहरी निरीक्षक थापाले उल्लेख गर्नुभयो । उहाँका अनुसार ५४ वटा सवारीसाधनले धुवाँ उत्सर्जन गरेको पाइएकाले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ उपदफा (१) को खण्ड (च) अनुसार आवश्यक कारबाही गरिएको छ । साथै सम्भावित दुर्घटना न्यूनीकरण गर्नका लागि सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिएको उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट