काठमाडौं : उत्तर कोरियाले आफ्ना सर्वोच्च नेता किम जोङ उनको हत्या भए वा कुनै विदेशी हमलामा मारिएको अवस्थामा स्वतः आणविक हमला गर्ने व्यवस्था संविधानमा कायम गरेको छ ।सर्वोच्च नेतामाथि ज्यान लिने हमला भएमा सैन्य बलले तत्काल प्रतिशोध स्वरूप आणविक हमला गर्न सक्ने व्यवस्था संविधानमै समावेश गरेको दाबी गरिएको छ ।
द टेलिग्राफको रिपोर्टअनुसार, उत्तर कोरियाले संशोधित संविधानमार्फत सर्वोच्च नेतामाथि आक्रमण वा हत्या भए त्यसको प्रतिकारका लागि सैन्य प्रतिक्रिया अनिवार्य बनाएको हो ।
विभिन्न अन्तर्राष्ट्रिय मिडिया रिपोर्टअनुसार, प्योङयाङले सम्भावित नेतृत्वविहीन अवस्थाका लागि ‘डेड ह्यान्ड’ शैलीको प्रतिआक्रमण प्रणाली विकास गरेको आशंका गरिएको छ।
‘डेड ह्यान्ड’ शब्द शीतयुद्धकालीन सोभियत संघको एउटा गोप्य प्रणालीसँग जोडिन्छ, जसअनुसार शीर्ष नेतृत्व नष्ट भए पनि स्वचालित रूपमा आणविक प्रतिआक्रमण सुरु हुन सक्थ्यो। अहिले विश्लेषकहरूले उत्तर कोरियाले पनि यस्तै अवधारणामा आधारित सुरक्षा रणनीति बनाएको हुन सक्ने बताएका छन्।
रिपोर्टहरूका अनुसार, उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रमलाई केवल प्रतिरोधात्मक शक्ति मात्र नभई शासन सुरक्षा प्रणालीका रूपमा पनि प्रयोग गरिरहेको छ। किम जोङ–उनको सुरक्षालाई राष्ट्रिय अस्तित्वसँग जोडेर हेरिने भएकाले यस्तो रणनीतिबारे चर्चा बढेको हो।
उत्तर कोरियाले भने यस्ता दाबीबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन। तर पछिल्ला वर्षहरूमा प्योङयाङले लगातार मिसाइल परीक्षण र आणविक क्षमताको प्रदर्शन गर्दै आएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij