चितवन : तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवन जिल्लास्थित राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्ने रूख कटानको अनुमति प्रदान गरिएको छ। डिभिजन वन कार्यालय चितवनले शुक्रबारदेखि लागू हुनेगरी प्रसारण लाइन निर्माण क्षेत्रभित्र पर्ने रूखहरूको कटान, मुछान तथा सुरक्षित घाटगद्दी व्यवस्थापनका लागि आयोजनालाई वन प्रवेश इजाजतपत्र प्रदान गरेको हो। यससँगै आयोजना र डिभिजन वन कार्यालयबीच औपचारिक सम्झौतासमेत सम्पन्न भएको छ।
आयोजनाका प्रमुख श्यामजी भण्डारीका अनुसार भरतपुर महानगरपालिका–१ स्थित सतनचुली संरक्षित क्षेत्र, सतनचुली सामुदायिक वन तथा भरतपुर–२९ अन्तर्गत अकलादेवी र सिद्धदेवी सामुदायिक वन क्षेत्रमा रहेका विभिन्न प्रजातिका १,२६३ वटा रूख कटान गरिनेछ। कटान गरिएका रूखहरू तोकिएको समयभित्र सम्बन्धित सामुदायिक वन उपभोक्ता समूह तथा सब–डिभिजन वन कार्यालयले तोकेको सुरक्षित स्थानमा घाटगद्दी गर्नुपर्ने व्यवस्था गरिएको छ।
नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ मङ्सिर २० गतेको निर्णयअनुसार चितवन र तनहुँ जिल्लामा पर्ने कुल ९२.७३ हेक्टर वन क्षेत्र प्रसारण लाइन निर्माणका लागि प्रयोग गर्ने स्वीकृति दिइएको थियो। सोही अनुसार चितवनमा २५.२७ हेक्टर र तनहुँमा ६७.४६ हेक्टर वन क्षेत्र प्रभावित हुने बताइएको छ। सम्झौताअनुसार आयोजनाले हालसम्म आवश्यक प्रक्रिया अघि बढाइसकेको छ भने तनहुँ जिल्लाअन्तर्गत पर्ने रूखहरूको छपान कार्य पनि जारी रहेको छ। प्रसारण लाइन निर्माणलाई ऊर्जा पूर्वाधार विस्तारको महत्वपूर्ण परियोजनाका रूपमा हेरिएको छ, जसले विद्युत् प्रसारण प्रणालीलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij