Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

“चितवनमा एम्बुलेन्समा जीपीएस अनिवार्य, १५ दिनको समयसीमा”

“चितवनमा एम्बुलेन्समा जीपीएस अनिवार्य, १५ दिनको समयसीमा”

चितवन : चितवनमा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन सबै एम्बुलेन्समा जीपीएस जडान अनिवार्य गरिएको छ। जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको आज बसेको बैठकले एम्बुलेन्स सेवामा देखिँदै आएका विकृति नियन्त्रण गर्न यो निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको बैठकले जिल्लाभर सञ्चालनमा रहेका सबै एम्बुलेन्सलाई ७ दिनभित्र जनस्वास्थ्य कार्यालयमा एकीकृत तथ्यांक दर्ता गर्न निर्देशन दिएको छ।

दर्ता भएका एम्बुलेन्सले १५ दिनभित्र जीपीएस प्रणाली जडान गरी विवरण बुझाउनुपर्ने व्यवस्था गरिएको छ। तोकिएको समयभित्र दर्ता नगर्ने वा जीपीएस नजडान गर्ने एम्बुलेन्सलाई सञ्चालनमा रोक लगाइने समितिले जनाएको छ। बैठकले भाडादर र पार्किङ व्यवस्थापनलाई पनि कडाइ गर्ने निर्णय गरेको छ। जनस्वास्थ्य कार्यालय प्रमुखको संयोजकत्वमा गठन हुने उपसमितिले सिफारिस गरेको भाडादर अनुसार मात्र सेवा सञ्चालन गर्नुपर्नेछ। साथै, बिरामी अस्पताल पुर्‍याएपछि एम्बुलेन्स तत्काल कार्यक्षेत्रमा फर्कनुपर्ने र अस्पताल परिसरमा अनावश्यक पार्किङ गरी अन्य एम्बुलेन्सलाई अवरोध गरे कारबाही हुने निर्णय गरिएको छ।

यस्तै, दुर्घटना जोखिमलाई मध्यनजर गर्दै भण्डारा र मुग्लिङ क्षेत्रमा २४ सै घण्टा ‘डेडिकेटेड एम्बुलेन्स’ सञ्चालन गरिने भएको छ। ती एम्बुलेन्सका लागि छुट्टाछुट्टै टोलफ्री नम्बर उपलब्ध गराइनेछ। बैठकले चालकको पोसाक अनिवार्य गर्ने, एम्बुलेन्सको यान्त्रिक जाँच नियमित गर्ने तथा चालक–स्वास्थ्य संस्था बीच हुने अनियमित मिलेमतो रोक्न संस्थागत पहल गर्ने निर्णय पनि गरेको छ। प्रमुख जिल्ला अधिकारी अर्यालले निर्णय कार्यान्वयनपछि एम्बुलेन्स सेवा प्रभावकारी, पारदर्शी र नागरिकमैत्री हुने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट