Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

‘नेपाल स्वास्थ्य फूड’ इन्डष्ट्रीले विद्यालय दिवा खाजाका नाममा प्रशोधित र गुस्तरहिन खाद्य सामाग्री वितरण गरेपछि...

‘नेपाल स्वास्थ्य फूड’ इन्डष्ट्रीले विद्यालय दिवा खाजाका नाममा प्रशोधित र गुस्तरहिन खाद्य सामाग्री वितरण गरेपछि...

काठमाडौँ :  केही वर्षयता देशभरका सामुदायिक तथा सरकारी विद्यालयमा लागु भएको ‘विद्यालय दिवा खाजा’ कार्यक्रम अन्तर्गत बाल-बालिकालाई स्थानीय स्तरमै उत्पादन गरिएका रैथाने बालीबाट तयार गरिएको पोसिलो खाना उपलब्ध गराउनुपर्ने व्यवस्था छ। तर पछिल्लो समय देशका विभिन्न पालिकाहरूमा मापदण्ड विपरीत प्रशोधित तथा प्याकेजिङ गरिएको खाजा वितरण भइरहेको गुनासो बढ्दै गएको छ।


विराटनगरस्थित ‘नेपाल स्वस्थ फूड इन्डष्ट्री प्रालि’द्वारा उत्पादित खाद्य सामग्री देश भरका बिभिन्न विद्यालयमा आपूर्ति गरिएको पाइएको छ। ती उत्पादनमा छ देखि नौ महिनासम्मको म्याद उल्लेख गरिएकाले यसको गुणस्तर, प्रयोग भएका सामग्री तथा संरक्षण प्रक्रियाबारे चासो बढेको हो।

कम्पनीले स्थानीय उद्योग स्थापना गरी ‘स्वास्थ्य’ र ‘आर्थिक’ समृद्धिमा योगदान पुर्‍याउने उद्देश्यका साथ काम गरिरहेको जनाएको छ। साथै देशभर स्थानीय रोजगारी सिर्जना गर्ने, किसानबाट कृषि उपज खरिद गर्ने र किसानलाई बजार मूल्यभन्दा बढी मूल्य उपलब्ध गराउने दाबी पनि कम्पनीले गर्दै आएको छ। तर हालसम्म कुन पालिकाका कति किसानले कति मुल्य पाए भन्ने स्पष्ट विवरण कम्पनीसंग छैन ।

कम्पनीले दाल, भटमास, बदाम, गहुँ, चामल, कोदो, स्किम्ड मिल्क पाउडर, चिनी, बनस्पति तेल लगायतका सामग्री प्रयोग गरी ‘पौष्टिक खिर’, ‘पौष्टिक खिचडी’, हलुवा र दलियाजस्ता तयारी आहार उत्पादन गरिने बताएको छ । यी खाद्य सामग्री केवल पानी मिसाएर प्रयोग गर्न सकिने कम्पनीको दाबी छ।

तर पोषण विज्ञहरूले यस्ता उत्पादनको पोषण मूल्य र दीर्घकालीन संरक्षणबारे प्रश्न उठाएका छन्। उनीहरूले दूध, चिनी, गहुँ र चामलजस्ता सामग्री मिसाइएको खाद्य पदार्थ कुनै संरक्षक रसायनबिना लामो समय सुरक्षित रहन नसक्ने बताउँदै आएका छन् । त्यसैले प्रयोगशाला परीक्षणमार्फत वास्तविक अवस्था सार्वजनिक गर्नुपर्ने माग गरिएको छ।

यता, अभिभावकहरूले पनि ‘पौष्टिक आहार’को नाममा आफ्ना बालबालिकालाई अत्यन्त न्यून परिमाणमा भुटेको चिउरा वितरण गरिएको गुनासो गरेका छन्। एक केजी भुटेको चिउराले २० देखि २५ जना विद्यार्थीलाई पुग्ने दाबी गरिएकाले प्रति विद्यार्थी वितरण हुने खाजाको मात्रा पर्याप्त नभएको अभिभावकले बताउँदै आएका छन् ।

अत्यधिक प्रशोधन र गुणस्तरहिन तेल प्रयोग गरिएका खाद्य पदार्थमा प्राकृतिक पोषण घट्न सक्ने भन्दै यस्ता खाजा खुवाउन बन्द गरिनु पर्ने पोषणविद्को भनाई छ ।

यस अघि सुनसरीस्थित हरीनगर गाउँपालिका, वडा नम्बर ४ स्थित ‘गुरुकुल आधारभूत विद्यालय’का विद्यार्थीले खाँदै आएको उक्त कम्पनीको खाजामा ‘किरा’ र ‘ढुसी’ भेटिएको थियो । आफ्ना बालबच्चाले खाँदै आएको खाजामा ‘किरा’ र ‘ढुसी’ भेटिएपछि अभिभावकहरुले उक्त खाजा बन्द गराउनु पर्ने माग राखेका थिए । तर कम्पनीले विद्यालय व्यवस्थापन समितिमार्फत आर्थिक चलखेल गरि खाजालाई निरन्तरता दिइएको स्रोतको भनाई छ ।

विद्यालय खाजामा ‘किरा’ भेटिएको, ‘ढुसी’सहित गुणस्तरहिन प्रसोधित खाजा पठाइएको बारे बुझ्न खोज्दा कम्पनीका संचालक रिसभ अग्रवालले यसमा सत्यता नभएको दावी गरे । उनले भने, ‘गुणस्तरको प्रमाणित खाद्यगुणस्तर बिभागले गर्ने हो । हामीले केही भन्न सक्दैनौँ ।’खाजामा ‘किरा’ र ‘ढुसी’ भेटिएको विषयमा विद्यालयले ‘रिसइबी’ निकालेको उनको बताए । उनले भने, ‘कुनै स्कुलले रिसइवी निकाल्न चाहान्छ भने हामी के भन्न सक्छौँ?’ हामीले विद्यालयमा किरा परेको खाजा पठाएका होइनौँ, विद्यालयले रिसइबी निकाल्नका लागि किरा परेको भनेको हो ।’

diwa-khaja.png
undefined

कम्पनीले स्वास्थ्य खाद्य सामाग्री भन्दै हलुवा, पुलाउ, खीर, मिक्स खिचडी, मीठा दलिया तथा पोहा(चिउरा) जस्ता प्याकेजिङ खाजा देशका बिभिन्न विद्यालयमा वितरण गर्दै आएको छ ।

नेपाल सरकारको दिवा खाजा कार्यविधिअनुसार विद्यालयमै पकाएर तातो तथा आवश्यक पोषणयुक्त खाना खुवाउनुपर्ने व्यवस्था छ। तर हाल प्रयोग भइरहेको प्याकेटबन्द खाद्य सामग्रीको गुणस्तर, परिमाण र पोषण मूल्यबारे गम्भीर बहस सुरु भएको छ।

स्थानीय कृषकबाट उत्पादन संकलन गरी विद्यालय खाजामा प्रयोग गर्ने सरकारी उद्देश्य विपरीत उद्योगजन्य प्रशोधित खाद्य सामग्री प्रयोग भइरहेको आरोपसमेत लाग्न थालेपछि सरोकारवालाले यस विषयमा सम्बन्धित निकायबाट छानबिन गरी वास्तविकता सार्वजनिक गर्न माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट