काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी(नेकपा) की नेतृ पुनम यादवले दलीय राजनीतिबाट टाढा रहने घोषणा गरेकी छन् ।
लामो समयसम्म नेपालको कम्युनिस्ट राजनीतिमा सक्रिय यादवले आज सामाजिक सञ्जालबाट विज्ञप्ति जारी गर्दै आफू तत्कालका लागि दलीय राजनीतिबाट टाढा रहनका लागि बिदा लिइएको जानकारी दिइन् ।
“नेपाल कम्युनिस्ट पार्टीमा १० वर्षभन्दा बढीको यात्रामा म इमानदार भएर बसे र काम गरेँ, तर अब यो यात्रा आजका दिनबाट विभिन्न कारणले गर्दा टुङ्गिएको छ”, उनले भनेकी छन्, “अबका दिनबाट म कुनै पनि राजनीतिक दल वा समूहमा संलग्न नभई स्वतन्त्र रहेर काम गर्ने घोषणा गर्दछु, यो यात्रामा साथ, माया, हौसला दिनुहुने सम्पूर्णलाई हार्दिक धन्यवाद ।” यादव गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट रौतहट–३ बाट उम्मेदवार थिइन् ।
नेपाल र भारत सम्बन्ध बलियो बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी यादवको भारतीय हिन्दु धर्मगुरु र बलिउड कलाकारहरूसँग राम्रो सम्बन्ध छ । उनले यसअघि भारतीय कलाकार तथा धार्मिक गुरुहरूलाई नेपाल ल्याउनका लागि भूमिका निर्वाह गरेकी छन् । राजनीतिक वृत्तमा सम्भावना भएकी यादवले आफूले कुन कारणले यो निर्णय लिइन भन्ने विषयमा कुनै पनि कुरा खुलाएकी छैनन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij