भरतपुर : गणेशधाम संरक्षण तथा सम्वर्द्धन समितिले मन्दिर क्षेत्रको पूर्वाधार सुधारलाई प्राथमिकता दिँदै ४४० वर्गमिटर क्षेत्रमा ढलान कार्य सम्पन्न गरेको छ।
साथै मन्दिर परिसरको स्तर उन्नतिका लागि ढुंगा बिछ्याउने काम हाल तीव्र गतिमा भइरहेको छ। निर्माण कार्यको स्थलगत निरीक्षण गर्दै समितिका अध्यक्ष राजनकुमार श्रेष्ठ, निर्वतमान अध्यक्ष दिनेशकुमार चुके , प्रथम उपाध्यक्ष बाबुराम अधिकारी र महासचिव नवराज ढकालले कामको प्रगति तथा गुणस्तरबारे जानकारी लिएका छन्। उनीहरूले समयमै काम सम्पन्न गर्न निर्देशन दिँदै मन्दिर क्षेत्रलाई अझ व्यवस्थित र आकर्षक बनाउने लक्ष्य रहेको बताएका छन्।
समितिका महासचिव ढकालका अनुसार गणेशधामलाई धार्मिकसँगै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले पूर्वाधार निर्माणलाई निरन्तरता दिइएको छ। स्थानीयवासी तथा श्रद्धालुका लागि सहज र सुरक्षित वातावरण बनाउन यस्ता कार्यहरू प्रभावकारी हुने विश्वास गरिएको छ।