Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

चितवन अटो शो २०२६: दोस्रो दिनमै उत्साहजनक भीड, कारोबारमा सकारात्मक संकेत

चितवन अटो शो २०२६: दोस्रो दिनमै उत्साहजनक भीड, कारोबारमा सकारात्मक संकेत

चितवन: चितवन प्रदर्शनी केन्द्रमा जारी ‘चितवन अटो शो २०२६’ ले दोस्रो दिनसम्मै उत्साहजनक सहभागिता र व्यापारिक गतिविधि देखाएको छ।

चितवन अटोमोवाइल्स डिलर्स एशोसिएसन र चितवन अटोमोवाइल्स एशोसिएसनको संयुक्त आयोजनामा भइरहेको यो अटो शोमा ग्राहकवर्गको उल्लेखनीय आकर्षण देखिएको छ। कार्यक्रम संयोजक राजन पियाका अनुसार दोस्रो दिनसम्म मात्रै १ हजार ७ सय २६ जनाले अटो शो अवलोकन गरेका छन्। 

साथै १७ वटा बाइक/स्कुटर, ३४ वटा कार र १० वटा अन्य सवारी साधनको डेलिभरी समेत भएको उनले जानकारी दिए। बिहीबार सुरु भई शुक्रबार औपचारिक रूपमा उद्घाटन गरिएको अटो शोको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गरेका थिए। कार्यक्रममा चितवन अटोमोवाइल्स डिलर्स एशोसिएसनका अध्यक्ष ईन्द्र प्रसाद रेग्मीले स्वागत मन्तव्य दिएका थिए भने संयोजक पियाले कार्यक्रमको उद्देश्य र गतिविधिबारे जानकारी गराएका थिए।

अध्यक्ष रेग्मीका अनुसार अटो शोले अटोमोबाइल बजारलाई पुनः चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। उनका अनुसार नयाँ प्रविधियुक्त सवारी साधन, विशेषगरी विद्युतीय सवारी (ईभी), एकै स्थानमा उपलब्ध गराइएकाले उपभोक्तालाई जानकारी लिन र खरिद निर्णय गर्न सहज भएको छ।

अटो शोमा सवारी साधनका साथै स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स र बैंकिङ सेवा समेत उपलब्ध छन्। विभिन्न कम्पनीका नयाँ मोडलमा विशेष छुट तथा फाइनान्स सुविधा समेत प्रदान गरिएको आयोजकले जनाएको छ। त्यसैगरी, अटो शो अन्तर्गत “अटो सेमिनार” समेत सञ्चालन भइरहेको छ, जहाँ अटोमोबाइल क्षेत्रका विज्ञहरूले नयाँ प्रविधि र बजार प्रवृत्तिबारे जानकारी दिइरहेका छन्। साथै विद्यालयस्तरका विद्यार्थी र अभिभावक लक्षित “हेल्मेट प्रयोग सचेतना कार्यक्रम” तथा हेल्मेट वितरण कार्यक्रम पनि आयोजना गरिएको छ।

आयोजकका अनुसार करिब १० हजारभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने र करिब रु. ५० करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको छ। अटो शोमा दैनिक स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति पनि जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij