Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

पेट्रोल र डिजेल सस्तो, ग्यास महँगो: मूल्य समायोजनले उपभोक्तामा मिश्रित प्रभाव

पेट्रोल र डिजेल सस्तो, ग्यास महँगो: मूल्य समायोजनले उपभोक्तामा मिश्रित प्रभाव

काठमाडौँ : नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुनेगरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो।

नयाँ समायोजनअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १२ रुपैयाँले घटाइएको निगमले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको उतारचढाव र आपूर्ति अवस्थालाई आधार मानेर मूल्य पुनः समायोजन गरिएको बताइएको छ। तर, हवाइ इन्धनको मूल्य भने बढाइएको छ। निगमका अनुसार आन्तरिक उडानतर्फ प्रतिलिटर ७ रुपैयाँले वृद्धि गरिएको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर ४६ अमेरिकी डलरले मूल्य बढाइएको छ।

नयाँ दरअनुसार काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर २१७ रुपैयाँ कायम भएको छ। यसअघि काठमाडौँ, दिपायल र पोखरामा पेट्रोलको मूल्य २१९ रुपैयाँ थियो। यस्तै सुर्खेत र दाङमा पेट्रोलको मूल्य २१८ रुपैयाँबाट घटेर २१६ रुपैयाँ कायम गरिएको छ। यता, खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर १५० रुपैयाँले बढाइएको छ। अब ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार १६० रुपैयाँ पुगेको छ, जुन यसअघि २ हजार १० रुपैयाँ थियो। आधा सिलिन्डर ग्यासको मूल्य पनि बढेर १ हजार ८० रुपैयाँ पुगेको छ।

नयाँ मूल्य समायोजनपछि पेट्रोल र डिजेलमा केही राहत देखिए पनि ग्यासको मूल्यवृद्धिले उपभोक्तामा थप आर्थिक भार परेको छ। मूल्य घटेसँगै ढुवानी तथा यातायात क्षेत्रमा लागत दबाब केही कम हुने अपेक्षा गरिएको छ। निगमले अन्तर्राष्ट्रिय बजारअनुसार स्वचालित प्रणालीमार्फत नियमित रूपमा मूल्य समायोजन गर्दै आएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट