Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

‘नेपाल मेडिकल शो–२०२६’ सुरु: विश्वस्तरीय स्वास्थ्य प्रविधि एउटै छानामुनि

‘नेपाल मेडिकल शो–२०२६’ सुरु: विश्वस्तरीय स्वास्थ्य प्रविधि एउटै छानामुनि

काठमाडौं : स्वास्थ्य सेवाको क्षेत्रमा रोग पहिचानदेखि उपचारसम्म अत्याधुनिक उपकरण र प्रविधिको प्रयोग तीव्र रूपमा विस्तार हुँदै गएको सन्दर्भमा ‘नेपाल मेडिकल शो–२०२६’ सुरु भएको छ।

विश्व बजारमा विकास भइरहेका नयाँ–नयाँ मेडिकल प्रविधिहरूले उपचार प्रणालीलाई अझ छिटो, सुरक्षित र प्रभावकारी बनाइरहेका छन्, जसको प्रत्यक्ष अनुभव गराउने उद्देश्यले तीन दिने यो प्रदर्शनी आयोजना गरिएको हो। १७ गते बिहिबार शुरु भएको तीन दिने एक्सपो शनिवार सम्म चल्ने छ।

एसडी प्रोमो मिडिया र केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपाल (केमसान)को संयुक्त पहलमा आयोजना गरिएको उक्त प्रदर्शनीमा आधुनिक स्वास्थ्य उपकरण तथा प्रविधिहरू एउटै छानामुनि प्रस्तुत गरिएका छन्। आयोजक केमसानका अध्यक्ष भक्त हमालले सबै प्रकारका स्वास्थ्य सामग्री तथा उपकरण एकै स्थानमा अवलोकन गर्न पाइने भएकाले यो प्रदर्शनी स्वास्थ्य क्षेत्रका सरोकारवालाका लागि अत्यन्त उपयोगी हुने बताए। उनका अनुसार अक्सिजन प्रणालीदेखि सीटी स्क्यान, एमआरआईजस्ता उन्नत उपकरणसम्मको तुलना र जानकारी लिन सकिनेछ, जसले नयाँ प्रविधि भित्र्याउन र निर्णय प्रक्रियालाई सहज बनाउनेछ।

उनले स्वास्थ्य क्षेत्रमा देखिएका केही चुनौतीहरू पनि औंल्याए। समयमै भुक्तानी नहुनु, स्वास्थ्य सामग्रीमा भ्याट लगाइनु, एमआरपी निर्धारणजस्ता विषयले व्यवसायीहरूलाई समस्या परेको उनको भनाइ थियो। साथै, उपकरणको गुणस्तर सुनिश्चित गर्न राज्यले प्रभावकारी एक्रिडिटेशन प्रणाली स्थापना गर्नुपर्ने आवश्यकता उनले औंल्याए।

कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले यस्ता प्रदर्शनीहरूले निजी क्षेत्रलाई चलायमान बनाउँदै अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने बताए। उनले निजी क्षेत्रसँग सहकार्य गर्दै यस्ता समस्याहरू समाधान गर्न महासंघ तयार रहेको उल्लेख गरे।

केमसानका महासचिव बिनोद मानन्धरका अनुसार ‘नेपाल मेडिकल शो–२०२६’ को मुख्य उद्देश्य विभिन्न देशमा विकसित मेडिकल तथा सर्जिकल उपकरणहरूको प्रदर्शनी गर्नु हो। यसले नेपाली चिकित्सक, नर्स, प्राविधिक तथा बायोमेडिकल टेक्निसियनलाई नयाँ प्रविधि प्रत्यक्ष अवलोकन गर्ने अवसर प्रदान गर्नेछ। प्रदर्शनीमा एमआरआई, सीटी स्क्यान, थ्रीडी–फोरडी इमेजिङ प्रविधि तथा अपरेशन थिएटरमा प्रयोग हुने अत्याधुनिक वायरलेस प्रणालीसम्मका उपकरणहरू प्रस्तुत गरिएका छन्।

नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. अनिल बिक्रम कार्कीले यस्ता प्रदर्शनीले चिकित्सकहरूलाई विश्व बजारका नवीनतम प्रविधि एकै ठाउँमा अवलोकन गर्ने अवसर दिने बताए। उनले नयाँ उपकरणको प्रयोग र विकासमा चिकित्सकहरूको सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिए। साथै, कार्यक्रममा सरकारको प्रतिनिधित्व नदेखिनुले निजी क्षेत्रप्रति सरकारी धारणा कस्तो छ भन्ने प्रश्न उठेको उनको भनाइ थियो।

निजी अस्पतालहरूको छाता संगठन (अफिन)का अध्यक्ष डा. पदम बहादुर खड्काले गुणस्तरीय स्वास्थ्य उपकरण आयातमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए। उनले लगानीमैत्री नीति र सहयोगी वातावरण आवश्यक रहेको उल्लेख गर्दै उपकरणको गुणस्तर सुनिश्चित गर्न सबै सरोकारवालाको सहकार्यमा स्पष्ट मापदण्ड निर्माण गर्नुपर्ने बताए।

नेपाल औषधि उत्पादक संघका अध्यक्ष बिप्लव अधिकारीले स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको ठूलो लगानी रहेको उल्लेख गर्दै सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको बताए। उनले निजी क्षेत्रलाई केवल नाफामुखी दृष्टिले हेर्न नहुने र विकासको साझेदारका रूपमा स्वीकार गर्नुपर्ने धारणा राखे। नेपाल आयुर्वेद औषधि उत्पादक संघका अध्यक्ष सुमन प्रसाद पाण्डेयले औषधि उत्पादन तथा स्वास्थ्य सामग्री आयातमा अर्बौँ रुपैयाँ लगानी भएको उल्लेख गर्दै त्यस्तो लगानीको सुरक्षा गर्नु सरकारको दायित्व भएको बताए। उनले नियन्त्रणमुखी नीतिभन्दा सहजीकरण र प्रभावकारी नियमन आवश्यक रहेकोमा जोड दिए।

आयोजक एसडी प्रोमो मिडियाका अध्यक्ष विवेक विक्रमका अनुसार नेपाल मेडिकल एण्ड ल्याब शो सन् २०१६ मा करिब ७५ कम्पनीहरूको सहभागिताबाट सुरु भएको थियो। सन् २०२६ मा आइपुग्दा यसले महत्वपूर्ण कोसेढुङ्गा पार गर्दै २०० भन्दा बढी कम्पनी, ७५० भन्दा बढी ब्रान्ड र २० भन्दा बढी देशका सहभागीहरू समेटेको छ। यस वर्ष १० हजारभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने अपेक्षा गरिएको छ।

प्रोजेक्ट हेड अनुरोध पराशरले नवौं संस्करणसम्म आइपुग्दा यो प्रदर्शनी नेपालको सबैभन्दा ठूलो स्वास्थ्य सेवा प्रदर्शनीका रूपमा स्थापित भएको बताए। भारत, नेपाल, पाकिस्तान, श्रीलंका, चीन, जापान, दक्षिण कोरिया, अमेरिका, जर्मनी, ताइवान, स्पेन, स्विट्जरल्याण्ड, बेलायत लगायतका देशका विश्वप्रसिद्ध ब्रान्डहरू यसमा सहभागी छन्।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल, केन्द्रीय सदस्य नरेश श्रेष्ठ तथा अन्य सरोकारवालाहरूले प्रदर्शनीको सफलताको शुभकामना व्यक्त गरेका थिए। ‘नेपाल मेडिकल शो–२०२६’ ले विश्वस्तरीय स्वास्थ्य उपकरण र प्रविधिको प्रत्यक्ष अवलोकन, जानकारी आदान–प्रदान तथा सहकार्य विस्तारका लागि महत्वपूर्ण मञ्च प्रदान गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट