Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

इच्छाकामनामा शिक्षक नियुक्ति विवाद, विद्यालय र गाउँपालिकाबीच मतभेद

इच्छाकामनामा शिक्षक नियुक्ति विवाद, विद्यालय र गाउँपालिकाबीच मतभेद

इच्छाकामना : चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित राष्ट्रिय आधारभूत विद्यालय फिस्लिङमा शिक्षक नियुक्तिका विषयमा विवाद उत्पन्न भएको छ। गाउँपालिकाले पठाएको शिक्षक विद्यालयको आवश्यकता अनुसार योग्य नभएको भन्दै हाजिर हुन नदिई पुनः परीक्षा लिन खोजेपछि समस्या सिर्जना भएको हो।

विद्यालयका प्रधानाध्यापक भविश्वर गुरुङका अनुसार कक्षा १ देखि ८ सम्म गणित, विज्ञान र स्वास्थ्य विषय अंग्रेजी माध्यममा अध्यापन गराउन सक्ने शिक्षक माग गरिएको थियो। तर पठाइएका शिक्षकले प्राथमिक तहसम्म मात्र पढाउन सक्ने जनाएपछि विवाद बढेको उनले बताए। विद्यालयमा हाल कक्षा १ देखि ८ सम्म अंग्रेजी माध्यममा पढाइ हुँदै आएको र आगामी वर्ष कक्षा ९–१० सञ्चालन गर्ने तयारी रहेकाले माध्यमिक तहसम्म पढाउन सक्ने शिक्षक आवश्यक रहेको उनको भनाइ छ। विद्यालयले आवश्यकता अनुसार शिक्षक नपठाई वैकल्पिक सूचीमा रहेका उम्मेदवारलाई पठाइएको आरोप समेत लगाएको छ।

यता गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले भने सबै प्रक्रिया पूरा गरेर पठाइएको शिक्षकलाई हाजिर हुन नदिनु र पुनः परीक्षा लिनु नियमविपरीत भएको बताए। प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले पनि गाउँपालिकाले पठाएको शिक्षकको पुनः परीक्षा लिनु आवश्यक नभएको स्पष्ट पारेका छन्। यस विषयमा विद्यालय र गाउँपालिकाबीच विवाद बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट