चितवन : भरतपुर अस्पतालले बिरामीलाई महँगो मूल्यका न्युट्रास्युटिकल्स (पोषक तत्वका रूपमा प्रयोग हुने सहायक औषधि) सिफारिस नगर्न चिकित्सकहरूलाई कडा निर्देशन दिएको छ। अस्पताल प्रशासनले आज एक सूचना जारी गर्दै औषधि व्यवस्था विभागमा दर्ता नभएका र महँगो मूल्यका यस्ता उत्पादनहरू लेख्न रोक लगाएको हो।
अस्पतालमा उपचारका लागि आउने बिरामी र उनीहरूका आफन्तहरूबाट चिकित्सकहरूले अनावश्यक रूपमा महँगो न्युट्रास्युटिकल्स लेख्ने गरेको गुनासो आएपछि प्रशासनले यस्तो कदम चालेको हो।अस्पतालका अनुसार विभागमा दर्ता नभएका र महँगो मूल्यका उत्पादनहरू सिफारिस गर्ने कार्यले नेपाल सरकारको ‘सस्तो र सर्वसुलभ उपचार प्रदान गर्ने’ उद्देश्यको गम्भीर उल्लंघन भएको ठहर गरिएको छ।
अस्पताल प्रशासनले अबदेखि चिकित्सकहरूले लेख्ने औषधि र प्रेस्क्रिप्सनको नियमित अडिट (जाँच) गर्ने चेतावनी दिएको छ। सूचनामा भनिएको छ, ”औषधि व्यवस्था विभाग अन्तर्गत दर्ता नभएका न्युट्रास्युटिकल्स प्रेस्क्राइब नगर्न सचेत गराइन्छ। यदि यो सूचनाको उल्लंघन गरेको पाइएमा प्रेस्क्रिप्सन अडिट गरी कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ।”
भरतपुर अस्पतालले स्वास्थ्य सेवालाई थप पारदर्शी र बिरामीमैत्री बनाउन यस्तो निर्णय लिएको बताएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij