Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

चितवनका १३ विद्यालयमा नर्स अभाव : विद्यार्थी स्वास्थ्य जोखिममा

चितवनका १३ विद्यालयमा नर्स अभाव : विद्यार्थी स्वास्थ्य जोखिममा

भरतपुर : बागमती प्रदेश सरकारको गौरवको योजना ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम अन्तर्गत चितवनका १३ वटा माध्यमिक विद्यालयमा नर्सको पद रिक्त भएपछि विद्यालय स्वास्थ्य सेवा प्रभावित भएको छ । नर्सहरूले जागिर छाडेपछि ती विद्यालयका विद्यार्थीहरू आधारभूत स्वास्थ्य सेवा, महिनावारी स्वच्छता व्यवस्थापन तथा स्वास्थ्य परामर्शबाट वञ्चित हुन पुगेका छन् ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लाका विभिन्न स्थानीय तहअन्तर्गत १३ विद्यालयमा नर्सको दरबन्दी खाली रहेको छ । भरतपुर महानगरपालिका वडा नं. २३ स्थित सरस्वती माध्यमिक विद्यालय, वडा नं. १ को सिताराम संस्कृत मावि, वडा नं. १५ को विश्वप्रकाश मावि, वडा नं. १८ को गुञ्जानगर मावि तथा वडा नं. २७ स्थित जानकी मावि, मेघौलीमा नर्सको पद रिक्त छ । त्यसैगरी माडी नगरपालिका वडा नं. १ को सोमेश्वर मावि र वडा नं. ८ स्थित जनजीवन मावि, रत्ननगर नगरपालिका वडा नं. १४ को जनजागृति मावि, पिठुवा, राप्ती नगरपालिका वडा नं. ६ को भण्डारा मावि, खैरहनी नगरपालिका वडा नं. १२ को कोपिया मावि, इच्छाकामना गाउँपालिका वडा नं. ३ को माझगाउँ मावि तथा वडा नं. २ को जनप्रिय माविमा पनि नर्स अभाव देखिएको छ ।

कार्यालयका अनुसार अधिकांश नर्सहरूले स्थायी सरकारी सेवा (लोकसेवा) मा नाम निकालेर वा तयारीका लागि समय मिलाउन करारको जागिर छाड्ने गरेका छन् । साथै, नर्सिङ क्षेत्रमा उच्च शिक्षा अध्ययन तथा वैदेशिक रोजगारीतर्फ आकर्षण बढ्नु पनि विद्यालयमा नर्स टिकिरहन नसक्नुको प्रमुख कारण बनेको छ । सरकारी अस्पतालको तुलनामा सेवा सुविधा र वृत्ति विकासका अवसर सीमित हुनु पनि अर्को चुनौतीका रूपमा देखिएको छ । रिक्त दरबन्दीसम्बन्धी विवरण बागमती प्रदेश स्वास्थ्य निर्देशनालयमा पठाइसकिएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरेले जानकारी दिएका छन् । यस्तै, बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता दिनेश रुपाखेतीका अनुसार ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमको कार्यविधि परिमार्जन गरिसकिएको र सोहीअनुसार चाँडै नयाँ दरखास्त आह्वान गरी पदपूर्ति गरिने तयारी भइरहेको छ ।

नयाँ कार्यविधिले नर्सहरूको छनोट प्रक्रिया र परिचालनलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ । यद्यपि, हाल नर्स अभावका कारण विद्यालयहरूमा आकस्मिक उपचार, स्वास्थ्य शिक्षा तथा परामर्श सेवा प्रभावित भएको छ । स्थानीय तह र अभिभावकहरूले तत्काल पदपूर्तिको माग गरेका छन् । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ देखि ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम सुरु गरेको हो । प्रारम्भमा २० विद्यालयमा परीक्षणका रूपमा सुरु गरिएको यो कार्यक्रम हाल प्रदेशभरका ८ सय ४८ माध्यमिक विद्यालयसम्म विस्तार भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट