काठमाडौं : सरकारले आजदेखि देशभरिका बालबालिकाको पोषणको अवस्था पत्ता लगाउन ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सञ्चालन गर्ने भएको छ।
स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लिलाविक्रम थापाले बालबालिकाको उचाई र तौल नापेर पोषणको अवस्था पत्ता लगाउन अभियान सन्चालन गर्न लागिएको जानकारी दिए। उनका अनुसार छ महिनादेखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकाहरूको पोषण अवस्था जाँच गरी शीघ्र कुपोषणको समयमै पहिचान र उपचार गर्ने अभियान सञ्चालन गरिनेछ।
अभियान आजबाट सुरु भइ ३० गतेसम्म सञ्चालन हुनेछ। यस अभियानअन्तर्गत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका वा नजिकैको स्वास्थ्य संस्थामार्फत बालबालिकाको पाखुराको मध्य भागको घेरा नापेर पोषणको स्थिति पत्ता लगाइन्छ र कुपोषण देखिएका बालबालिकालाई बहिरङ्ग उपचार केन्द्र मार्फत ‘तयारी उपचारात्मक खाना’ निःशुल्क उपलब्ध गराइन्छ।
अभियान स्वास्थ्य संस्था तथा खोप केन्द्रहरु, सामुदायिक क्लिनिक, वडा कार्यालय, सामुदायिक भवन तथा प्रारम्भिक बाल विकास केन्द्रमा सञ्चालन हुनेछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij