काठमाडौँ : प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह पार्टी बैठकमा सहभागी हुन छाडेका छन् ।बालेनले पुस १३ गते रास्वपाका सभापति रवि लामिछानेसँग ७ बुँदे सहमति गरेका थिए । सोही सहमति अनुसार रास्वपाले रवि पार्टी सभापति नै रहने र बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवारको रूपमा प्रस्तुत गरेको थियो ।
निर्वाचनको पूर्वसन्ध्यामा भएको सहमतिलाई रास्वपाले भदौमा भएको जेनजी आन्दोलनको आवश्यकता र भावना बमोजिम भएको जिकिर गरेको थियो । काठमाडौँ महानगरपालिकाको प्रमुख पदबाट माघ ४ गते राजीनामा दिएका बालेनले रास्वपाबाट झापा–५ मा उम्मेदवारी दिएका थिए । त्यसैदिन रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा उनले वरिष्ठ नेताको पदभार ग्रहण गरेका थिए ।
बेलुका मधेस प्रदेशको राजधानी जनकपुरधाम पुगेका उनले माघ ५ गते पार्टीले आयोजना गरेको परिवर्तन उदघोष सभालाई सम्बोधन गरेका थिए । माघ ६ गते झापा–५ बाट उम्मेदवारी दिएर देशव्यापी चुनावी प्रचारमा निस्किएका उनी पार्टीको बैठकमा सहभागी भएनन् ।
फागुन २१ को निर्वाचनमा बालेनले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भारी मतान्तरले पराजित गरे । रास्वपाले दुई तिहाइ नजिक अर्थात् १८२ सिट जित्न सफल भयो ।
निर्वाचनपछि चैत १२ गते पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकमा सहभागी भएका बालेन त्यस यता पार्टीको कुनै पनि बैठकमा सहभागी भएका छैनन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij