भरतपुर: भरतपुर महानगरपालिका–८/९ मा रहेको श्री वनदेवी वरण्डाभार मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको अधिवेशन निर्धारित समयमा सम्पन्न हुन नसकेको छ।समूहको विधानअनुसार २०८२ साल पुस महिनाभित्र अधिवेशन सम्पन्न गरिसक्नुपर्ने व्यवस्था भए पनि विभिन्न कारणले समयमै अधिवेशन हुन नसकेपछि वैशाख १३ गते आयोजना गरिएको २३औँ साधारणसभामार्फत अधिवेशनको म्याद २०८३ साल भदौसम्मका लागि थप गरिएको उपभोक्ताहरूले बताएका छन्।
१ करोड १० लाखको बजेट पारित
शनिबार सम्पन्न साधारणसभामा आर्थिक वर्ष २०८१/०८२ को आय–व्यय विवरण प्रस्तुत गरी अनुमोदन गरिएको थियो। साथै आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ करोड १० लाख रुपैयाँ बराबरको अनुमानित आय–व्यय प्रस्ताव पेश गरी पारित गरिएको आयोजकले जनाएको छ।
संरक्षण, व्यवस्थापन र पर्यटन विकासमा जोड
साधारणसभामा वन संरक्षण, व्यवस्थापन, पर्यावरणीय सन्तुलन तथा पर्यटन विकासका विषयमा समेत विस्तृत छलफल गरिएको थियो। सहभागी उपभोक्ताहरूले वन क्षेत्रको संरक्षणसँगै स्थानीय समुदायको आयआर्जन र पर्यटन प्रवर्द्धनमा वनको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए।
कार्यक्रम श्री वनदेवी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष ज्ञानकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने भरतपुर महानगरपालिकाका कार्यवाहक मेयर चित्रसेन अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
वरण्डाभारलाई पर्यटकीय हब बनाउन सकिने
प्रमुख अतिथि अधिकारीले सामुदायिक वनहरू वातावरण संरक्षण, जैविक विविधता जोगाउने तथा स्थानीय समुदायलाई आर्थिक रूपमा सबल बनाउने महत्वपूर्ण आधार भएको बताए।
उनले वरण्डाभार क्षेत्र पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएकाले यसको संरक्षणसँगै योजनाबद्ध विकास गर्नुपर्नेमा जोड दिए। उपभोक्ताको चाहना, समयको मूल्याङ्कन र सहभागिताअनुसार वनको दिगो व्यवस्थापन गर्न सके यस क्षेत्रलाई पर्यटकीय हबका रूपमा विकास गर्न सकिने उनको भनाइ थियो।
कार्यक्रममा उपभोक्ता, स्थानीय जनप्रतिनिधि, वनकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij