चितवन : ३० हजार पशुचौपायलाई लम्पीस्किनविरुद्धको खोप लगाइने भएको छ । यहाँका पशुमा लम्पीस्किनको समस्या आउन सक्ने भएकाले खोप लगाउन लागिएको हो।
पशु सेवा कार्यालय चितवनका प्रमुख डा. प्रभात न्यौपानेका अनुसार खोप कार्यालयमा ल्याएर पालिकालाई वितरणको काम सुरु गरिएको छ । जिल्लाका सातै पालिकालाई खोप वितरण गरी लगाइने बताउँदै गर्मीयाममा लामखुट्टे, झिँगालगायतको टोकाइबाट हुनसक्ने सङ्क्रमणका कारण पनि यो रोगको जोखिम देखिने गरेकाले रोकथानका खोप लगाउन लागिएको न्यौपानेले जानकारी दिए।
उनका अनुसार गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओठ, मुख र नाक भित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्याल काढ्ने, लिम्फनोडहरू सुक्नेजस्ता लक्षण देखा पर्दछन् ।
यो रोग विशेषगरी सङ्क्रमित लामखुट्टे, झिँगालगायतको टोकाइबाट लाग्ने गर्दछ । सङ्क्रमित गाईबस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ ।
यो रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिँगा, लामखुट्टे तथा अन्य कीराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकताअनुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने उनले बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij