चितवन : चितवनका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले अस्पतालहरुलाई बिरामीसँग असंवेदनशील व्यवहार, कमिशनखोरी र अव्यवस्था सुधार्न निर्देशन दिनु भएको छ । जिल्ला प्रशासन कार्यालय चितवन र जनस्वास्थ्य कार्यालय चितवनले आज भरतपुरमा आयोजना गरेको “जिल्लामा नागरिक स्वास्थ्य सेवा बिषयक परामर्श” कार्यक्रमलाई सम्बोध गर्दै उहाँले अस्पतालका व्यवस्थापक र सञ्चालकहरुलाई कडा निर्देशन दिनु भएको हो ।
जिल्लाका सरकारी, निजी अस्पताल र स्वास्थ्य संस्थाका व्यवस्थापक एवं सञ्चालकलाई एकै ठाउँमा राखेर प्रमुख जिल्ला अधिकारी अर्यालले स्वास्थ्य क्षेत्रमा भए गरेका कमिकमजोरी केलाएर सुधार गर्न निर्देशन दिनु भएको हो । अस्पतालका व्यवस्थापक र सञ्चालकहरुले आफूले गरेका कमिकमजोरीहरु दुरुस्त रुपमा उतारेर अर्यालले अबका दिनमा यस्ता कमिकमजोरी नदोहो¥याउन आग्रह पनि गर्नुभयो ।
उहाँले भन्नुभयो “बिरामीको मृत्यु हुँदा आँशु झार्नु भनेको होइन, तर डाक्टर संवेदनशील हुनै पर्छ ।” अस्पतालहरुले बीमा र नगदका बिरामीलाई फरक व्यवहार गरेको, अनावश्यक परीक्षणहरु गर्ने गरेको, विपन्नको उपचार प्रबन्ध राम्रो नभएको, जेष्ठ नागरिकले छुट नपाएको उहाँले बताउनुभयो । कर्मचारीले तोके अनुसारको सुविधा नपाएको, सरकारी अस्पतालको टोकन प्रणाली राम्रो नभएको, बहिरंग सेवामा जनशक्तिको व्यवस्थापन राम्रो नभएको, आन्तरिक र बाह्य रिफरलको राम्रो व्यवस्थापन भएको उहाँले बताउनुभयो ।
अस्पतालहरुको सेवाको गुणस्तर राम्रो नभएको भन्दै उहाँले भन्नुभयो “गुणस्तरका व्यवहार र शैली परिवर्तन गर्नुपर्छ ।”
कार्यक्रममा भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. विश्वबन्धु वगालेले अस्पतालका समस्याहरु, कमजोरीहरु र अब सुधार्नुपर्ने विषयमा प्रस्तुती दिनु भएको थियो । पछिल्लो समय अस्पतालमा बहिरंग सेवामा व्यापक सुधार गरिएको भन्दै उहाँले विगतमा बिरामीले चिकित्सक खोज्नु पर्ने अवस्था रहेकामा अहिले चिकित्सकले अस्पतालमा बिरामी खोज्ने गरेको बताउनुभयो ।
वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले अस्पतालमा धेरै सुधार भएको भन्दै तथ्यांकले त्यो कुरा पुष्टि गर्ने बताउनुभयो । उहाँले अझै धेरै सुधार गर्नुपर्ने भन्दै सरकारले दिनुपर्ने विपन्न र बीमाको भुक्तानी समयमा दिएमा अस्पताल सुधार गर्न सहज हुने बताउनुभयो ।
जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरेले ऐनका बारेमा जानकारी गराउँदै तत अनुसार काम हुन नसकेको बताउनुभयो ।
निजी अस्पताल समन्वय समिति चितवनका अध्यक्ष बिक्रम अधिकारीले निजी क्षेत्रले स्वास्थ्य ठूलो लगानी गरेको भएपनि राज्यका तर्फबाट सम्बोधन गर्नुपर्ने कुरामा ध्यान नदिईएको बताउनुभयो ।
कार्यक्रममा निजी अस्पताल र क्लिनिकहरुका सञ्चालकहरुले आफ्ना गुनासाहरु राखेका थिए । यस्तै यातायात व्यवसायीहरुले स्वास्थ्य क्षेत्र सुधारका लागि गर्नुपर्ने सुझाव दिएका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij