Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

भरतपुर–१८ निवासीलाई मौलाकालिका अस्पतालको स्वास्थ्य सेवामा सहुलियत

भरतपुर–१८ निवासीलाई मौलाकालिका अस्पतालको स्वास्थ्य सेवामा सहुलियत

गुञ्जनगर : भरतपुर महानगरपालिका–१८ का स्थानीयवासीले अब मौलाकालिका अस्पताल प्रा.लि., भरतपुरमा स्वास्थ्य सेवामा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् । यससम्बन्धी सम्झौतापत्रमा शनिबार वडा नं. १८ का अध्यक्ष बाबुराम रानामगर तथा अस्पतालका प्रबन्ध निर्देशक डा. ईश्वरीप्रसाद पण्डितले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार वडा नं. १८ का स्थायी बासिन्दा तथा सेवा कार्ड बनाएका नागरिकले अस्पतालका विभिन्न सेवामा छुट सुविधा लिन सक्नेछन् । छुट प्राप्त गर्नका लागि सहभागी कार्ड अनिवार्य रूपमा पेस गर्नुपर्ने व्यवस्था गरिएको वडा अध्यक्ष रानामगरले जानकारी दिए ।

अस्पतालका प्रबन्ध निर्देशक पण्डितका अनुसार यसअघि चौबीसकोठी नजिक सञ्चालन हुँदै आएको मौलाकालिका अस्पताल अहिले आफ्नै आधुनिक तथा सुविधासम्पन्न भवनमा स्थानान्तरण भई बाइपास रोडस्थित मालपोत चोकबाट आँखा अस्पतालतर्फको नयाँ भवनबाट सेवा दिइरहेको छ । १०० शय्यामा स्तरोन्नति गरिएको अस्पतालमा बर्न वार्ड, प्लास्टिक सर्जरी, स्तन क्यान्सरसम्बन्धी अङ्को सर्जरी, युरोलोजी, कार्डियोलोजी, स्पाइनल सर्जरी, न्यूरो सर्जरी तथा बाल मनोचिकित्सा सेवा सञ्चालनमा रहेका छन् ।

यसैबीच, भरतपुर–१८ वडा कार्यालयको आयोजना तथा मौलाकालिका अस्पतालको प्राविधिक सहयोगमा गुञ्जनगरमा निःशुल्क स्वास्थ्य शिविरसमेत सम्पन्न भएको छ । कार्यक्रममा वडा सदस्य दिलु गजमेर, वडा सचिव प्रकाश लामिछानेलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट