भरतपुर : इन्धनजन्य तथा निर्माण सामग्रीमा भएको निरन्तर र अस्वाभाविक मूल्यवृद्धिका कारण निर्माण क्षेत्र गम्भीर संकटमा परेको भन्दै निर्माण व्यवसायी संघ चितवनले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ।
संघले मध्यपूर्वमा जारी द्वन्द्वका कारण डिजेल, पेट्रोल, मट्टितेल लगायत इन्धनको मूल्यमा भइरहेको तीव्र वृद्धि तथा बिटुमिन, सिमेन्ट, डण्डी लगायत निर्माण सामग्रीको अभावले निर्माण उद्योग नै ठप्प हुने अवस्थामा पुगेको जनाएको छ। ज्ञापन पत्रमा वर्तमान अवस्थालाई ‘पूर्वाधार क्षेत्रमा सुनामी’ को संज्ञा दिँदै यसले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्न थालेको उल्लेख गरिएको छ। सरकारलाई पटक–पटक ध्यानाकर्षण गराइए पनि समस्या समाधानतर्फ ठोस कदम नचालिएको भन्दै व्यवसायीहरूले असन्तुष्टि व्यक्त गरेका छन्।
त्यस्तै, बजारमा मूल्यवृद्धि भइरहे पनि राष्ट्र बैंकको सूचकाङ्कअनुसार मूल्य समायोजन नहुँदा व्यवसायीहरू थप आर्थिक भारमा परेको र निर्माण आयोजनाहरू जोखिममा परेको संघको भनाइ छ। निर्माण कार्य चलिरहेको संवेदनशील समयमा सामग्री अभाव र मूल्यवृद्धिले राष्ट्रिय गौरवका आयोजना सहित साना–ठूला सबै परियोजना प्रभावित भएको उल्लेख गरिएको छ।
संघले सबै ठेक्कामा मूल्य समायोजनको व्यवस्था गर्न, मूल्यवृद्धि अनुसार आयोजनाको म्याद थप गर्न तथा बैंक ग्यारेन्टी, बीमा र क्षतिपूर्तिको स्पष्ट व्यवस्था गर्न सरकारसँग माग गरेको छ। साथै, तत्काल मूल्य समायोजन सम्बन्धी मार्गनिर्देशिका जारी गर्न पनि आग्रह गरिएको छ। ज्ञापन पत्र बुझ्दै चितवनका प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले निर्माण व्यवसायीका समस्या प्रति आफू जानकार रहेको बताउँदै आवश्यक पहलका लागि सम्बन्धित निकायमा समन्वय गर्ने प्रतिबद्धता जनाएका छन्।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij