काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदैछ । कांग्रेसले पार्टी सहमहामन्त्री प्रकाश स्नेही रसाइलीको संयोजकत्वमा गठन गरेको निर्वाचन समितिले वैशाख ७ गते सार्वजनिक गरेको ‘निर्वाचन कार्यक्रम’ अनुसार यसअघि बिहीबार मतदाताको नामावली प्रकाशित गरिएको थियो । समितिमा केन्द्रीय सदस्य मुना भुसाल र अधिवक्ता राजु कटवाल सदस्य छन् ।
दलको नेताका लागि उम्मेदवारी दर्ता र निर्वाचन आज नै हुने तय भएको छ । उम्मेदवारी दर्ताका लागि शुक्रबार दिउँसो ३ बजेदेखिको समय तोकिएको छ । निर्वाचनका लागि भने शुक्रबार अपराह्न ५ बजेदेखिको समय तोकिएको छ ।
कांग्रेसबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ जितेका १८ र समानुपातिक प्रणालीबाट सांसद भएका २० गरी ३८ सांसद छन् ।
प्रमुख प्रतिपक्षी दलको नेता संवैधानिक परिषद्को सदस्यसमेत हुने भएकाले संसदीय दलको नेतामा आकाङ्क्षा गर्ने धेरै छन् । अहिलेसम्म नेतामा ३ सांसद आकाङ्क्षी रहेको कांग्रेस नेताहरू बताउँछन् ।
भीष्मराज आङ्देम्बे, अर्जुननरसिंह केसी र मोहन आचार्यले दलको नेताका लागि दाबी प्रस्तुत गर्दै आफ्नो पक्षमा माहौल बनाउने प्रयास गरिरहेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij