भरतपुर : भरतपुर महानगरपालिका–२३ स्थित वेलहट्टा हरियाली सामुदायिक वन मा पुनः विवाद चुलिएको छ। लामो समयदेखि विभिन्न विवादमा तानिँदै आएको उक्त वनमा विधानविपरीत उपभोक्ता समिति पुनर्गठन गरिएको आरोप लगाउँदै स्थानीय उपभोक्ताले कसरा स्थित वरिष्ठ संरक्षण अधिकृतको ध्यानाकर्षण गराएका छन्।
स्थानीय उपभोक्ताका तर्फबाट प्रतिनिधि कृष्णप्रसाद अधिकारी ले बुझाएको पत्रमा अधिकांश उपभोक्तालाई जानकारी नै नदिई तथा उपस्थितसमेत नभएको अवस्थामा विघटित भइसकेका पूर्व सदस्यहरू मात्र सहभागी भई समिति पुनर्गठन गरिएको उल्लेख गरिएको छ। पत्रमा मिति २०८३/०१/०७ गते गठन गरिएको भनिएको समिति अवैधानिक, अपारदर्शी र अस्वीकार्य रहेको दाबी गरिएको छ।
उपभोक्ताहरूले वनको वर्तमान अवस्थाप्रति गम्भीर आपत्ति जनाउँदै छानबिन गरी वैधानिक र पारदर्शी प्रक्रियाबाट नयाँ समिति गठन गर्न माग गरेका छन्। पत्रमा इच्छुक उपभोक्तालाई गुमराहमा राखी समिति पुनर्गठन गरिएको, निर्वाचन तथा निर्णय प्रक्रियामा पारदर्शिता कायम नगरिएको तथा विधानअनुसार बहुमत सदस्यलाई जानकारी नदिइएको आरोप लगाइएको छ।
स्थानीय युवाहरूले वनभित्र भइरहेका बेथिति विरुद्ध सशक्त रूपमा आवाज उठाउने चेतावनीसमेत दिएका छन्। यसअघि पनि उक्त सामुदायिक वन विभिन्न विवादमा पर्दै आएको स्थानीयको भनाइ छ। केही राजनीतिक नेतृत्वको मिलेमतोमा राप्ती खोला क्षेत्र हडप्ने प्रयास, होटल व्यवसायीसँग साँठगाँठ गरी स्थानीय हितविपरीत गतिविधि सञ्चालन गर्ने, ठेक्कापट्टामा अनियमितता गर्ने तथा आफूअनुकूल व्यक्तिलाई जिम्मेवारी दिने काम विगत नेतृत्वबाट हुँदै आएको आरोप लगाइएको छ।
त्यसैगरी वन क्षेत्रभित्र रहेको करिब चार बिघा जग्गामा करोडौं रुपैयाँको चलखेल भएको तथा वडा कार्यालयबाट बिक्रीवितरण तथा भोगचलनका लागि सिफारिस गरिएको तर स्थानीयको विरोधपछि उक्त जग्गा रोक्का गराइएको दाबी गरिएको छ।
स्थानीय उपभोक्ताले सामुदायिक वन जनताको साझा सम्पत्ति भएकाले यसको संरक्षण, सञ्चालन र नेतृत्व चयन प्रक्रिया पूर्ण रूपमा पारदर्शी र कानुनी दायराभित्र हुनुपर्ने बताएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij