Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

स्वास्थ्य मन्त्रीको प्रमुख विज्ञ सल्लाहकारमा प्रा.डा. मनोहर प्रधान

स्वास्थ्य मन्त्रीको प्रमुख विज्ञ सल्लाहकारमा प्रा.डा. मनोहर प्रधान

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको प्रमुख विज्ञ सल्लाहकारमा प्रा.डा. मनोहर प्रधानले जिम्मेवारी पाउने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. प्रधानलाई मन्त्रीको विज्ञ सल्लाहकारका रूपमा पठाउने आधिकारिक निर्णय गरेसँगै सरकारले उनलाई सो जिम्मेवारी दिने निर्णय गरेको हो।

चिकित्सा र प्राध्यापन क्षेत्रमा लामो अनुभव सँगालेका डा. प्रधानलाई मन्त्रालयको अवैतनिक विज्ञ सल्लाहकारको रूपमा नियुक्तिको पत्र दिन लागिएको छ। चितवनलाई कार्यथलो बनाएर लामो समयदेखि चिकित्सा पेशा र प्राध्यापनमा सक्रिय डा. प्रधान विगत १८ वर्षदेखि कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज), भरतपुरमा प्राध्यापनरत छन्। 

पेशागत मर्यादा र दक्षताका कारण उनी दुई पटक नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य समेत भइसकेका छन् । यसका साथै उनले नेपाल चिकित्सक संघ, चितवन शाखाको उपाध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका छन्।

रास्वपाको स्थापनाकालदेखि नै सक्रिय डा. प्रधानले पछिल्लो समय पार्टीको बागमती प्रदेश स्वास्थ्य तथा जनसंख्या विभागको संयोजकका रूपमा काम गर्दै आएका थिए। सो क्रममा उनले स्वास्थ्यखबरसँग कुराकानी गर्दै नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि निरन्तर लागरहेन प्रतिबद्धता जनाएका थिए।

चिकित्सा क्षेत्रका प्राविधिक, नीतिगत र प्रशासनिक पक्षमा गहिरो दख्खल राख्ने उनको नियुक्तिले मन्त्रालयको कार्यसम्पादन र स्वास्थ्य नीति निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको मन्त्रालयका एक कर्मचारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij