Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

गण्डकीको सार्वजनिक सुनुवाइ, आठ महिनामा करिब ५० प्रतिशत बजेट खर्च

गण्डकीको सार्वजनिक सुनुवाइ, आठ महिनामा करिब ५० प्रतिशत बजेट खर्च

गोरखा,८बैशाख । गण्डकी गाउँपालिकाले चालू आर्थिक वर्षको दोस्रो चौमासिक (वैशाख पहिलो सातासम्म)मा करिब ५० प्रतिशत रकम खर्च गर्न सफल भएको छ । गाउँपालिकाको मङ्गलबार सम्पन्न आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिकको सार्वजनिक सुनुवाइका क्रममा कार्यप्रगति प्रस्तुत गर्दै चालूतर्फ ७५ दशमलव ८७ प्रतिशत र पुँजिगततर्फ २९ दशमलव २४ प्रतिशत बजेट गरी समग्रमा ४९ दशमलव ६९ प्रतिशत बजेट खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आचार्यले जानकारी गराउनुभएको हो । 

उहाँका अनुसार कुल ६५ करोड एक लाख रुपैयाँ बजेट विनियोजन हुँदा ३२ करोड ७० लाख ३७ हजार ३४ रुपैयाँ रकम खर्च भएको छ । त्यसमध्ये चालूतर्फको ४६ करोड ४४ लाख १५ हजारमध्ये २६ करोड ८७ लाख ६८ हजार ७०० रुपैयाँ खर्च भएको प्रस्तुत प्रतिवेदनले देखाएको छ । यस्तै पुँजिगततर्फको १८ करोड ५७ लाख ८५ हजार रुपैयाँमध्ये पाँच करोड ४२ लाख ९४ हजार २६४ रुपैयाँ खर्च भएको देखिएको छ । 
राजस्व सङ्कलनतर्फ भने दुई करोड २१ लाख रुपैयाँ राजस्व सङ्कलन हुने अनुमान गर्दा हालसम्म ७५ लाख ४१ हजार ८८९ रुपैयाँ मात्रै सङ्कलन भएको प्रमुख प्रशासकीय अधिकृत आचार्यद्वारा प्रस्तुत प्रतिवेदनले देखाएको छ । बाँकी रहेको करिब साढे दुई महिनामा राजस्व सङ्कलन लक्ष्यनजिक पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो । 
गाउँपालिकाले गर्न सक्नेसम्मको काममा जोड दिँदै आएको गाउँपालिकाले जनाएको छ ।

675251896_26360301753650717_6613344196487328409_n.jpg

जनताका अपेक्षा धेरै भए पनि सीमित बजेट र स्रोत साधनका बाबजुद काम गर्नुपर्ने बाध्यता भएको हुँदा कतिपय अपेक्षा पूरा गराउन नसकेको गाउँपालिकाकी उपाध्यक्ष ललिता अधिकारीले बताउनुभयो । ‘हामी जनचाहनाअनुसारको काममा केन्द्र्रित छौँ । तर, हामीसँग भएको सीमित स्रोतसाधनले सबै अपेक्षा समयमै पूरा गर्न सकेका छैनौँ,’उहाँले भन्नुभयो, ‘तैपनि प्राथमकितालाई हेरेर काम गर्ने प्रयास गर्दै आएका छौँ ।’ 
अध्यक्ष दीपक तिमिल्सिना (साकार)ले भने विकास निर्माणमा जनताको अपेक्षाअनुसार सडक पूर्वाधारको कामलाई प्राथमिकतामा राखिएको दाबी गर्नुभयो । विभिन्न खालका अफ्ठ्यारो परिस्थिति पार गर्दै गाउँपालिकाले पहिलोपटक आफ्नै कार्यकालयबाट सेवा प्रवाह गर्न सफल भएको बताउनुभयो। पृथ्वी राजमार्गसँग सीमाना जोडिएको गाउँपालिकाले मुख्य सडक कालोपत्रेको चरणमा रहेको उहाँले दाबी गर्नुभयो । कार्यक्रममा उठेका प्रश्नहरुको उत्तर पालिकाका अध्यक्ष,उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित वडाअध्यक्ष तथा सम्बन्धित शाखा प्रमुखे दिनुभएको थियो ।  
 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट